
रञ्जन अधिकारी पोखरा, ३ भदौ / पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले आफ्नो पदभार सम्हाले लगतै पहिलो काम नेपाल पर्यटन बोर्डलाई श्रोत साधन सहित अधिकार सम्पन्न बनाउनु रहेको बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले पोखरामा विहिबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै थपलियाले पर्यटन मन्त्रालयमा आफु रहुन्जेल पर्यटन बोर्डमा भएका समस्या समाधान गर्न लागि रहने बताउदै पर्यटन वोर्डलाई श्रोत साधन सहित अधिकार सम्पन्न बनाईने बताए ।
उनले भने – ‘पोखराको पर्यटन वोडलाई काम गर्न सक्ने गरी अधिकार सहितको कार्यालयको रुपमा व्याबस्था मिलाउने छु ।’ पोखरामा सुस्ताएको पर्यटन क्षेत्रलाई अघि बढाउन सरकारी, नीजि तथा साझेदारी र केन्द्रीय स्तरको नीति निर्माण तहबाट कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिए । पोखराको पर्यटन क्षेत्र सुस्ताउँदा पोखरा आसपास हुँदै मनाङ मुस्ताङसम्म यसको प्रभाव पर्ने थपलियाले उल्लेख गरे । “पोखराको पर्यटन विना हामीले पर्यटनको कुरा गर्नै सक्दैनौं, – उनले भने– ‘त्यसैले पोखराको बृहत विकासको लागि पहिलो आवश्यकता पर्यटन विकास नै हो ।”
पोखरामा स्थापना भएको पर्यटन प्रहरीले पर्यटकको हितमा अझ राम्रोसंग समन्वय गर्न नसकेको उनले बताए । एक पक्षीय कुराले विकास असम्भव भएको बताउँदै थपलियाले पर्यटन सम्वद्ध संघ संस्थाहरुसंग सहकार्य गरी पोखराको दिगो पर्यटनको विकासको लागि एक हुनु पर्नेमा जोड दिए । पोखराको भित्रि भागबाट बगेको सेतीनदीलाई राम्रो गन्तव्य बनाउन सक्ने पनि उनको भनाई छ ।
सांस्कृतिक तथा सामाजिक गतिविधिहरु अघि बढ्न नसके देशमा द्वन्द्व हुने उनको भनाई छ ।
पश्चिम क्षेत्रबाट बिदाई पाएका थपलियाले पोखरा क्षेत्रको नीजि क्षेत्र सार्वजनिक उत्तरदायित्व बोध गरेको बताए । स्थानीयहरुले उठाएका मुद्धालाई आफुले समन्वय मात्र गरेको बताउँदै थपलियाले यस क्षेत्रको पर्यटन सहितको अन्य विकासको लागि आफ्नो निरन्तर रुपमा सहयोग रहने वचन दिए । देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत पु¥याउने गरी काम गर्ने उनले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हवाई मार्गको केन्द्र बनाउन माग गरे । उनले पोखराको बृहत योजना अन्र्तगत फेवाताल बचाउने, साईकल सिटि, पोखरा सहितका पर्यटनका सम्भावनाको बृहत विकासमा थपलीयाको सहयोग निरन्तर हुने अपेक्षा गरे ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको बृहत योजनाको समन्वय गरेका थपलीयाको पर्यटन मन्त्रालयमै सरुवा हुनु पोखरेलीहरुको लागि खुसिको कुरा भएको बताउदै पोखरामा क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बन्नेमा विश्वास व्यक्त गरे । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले पोखराको विकासमा लेखनाथलाई समेत जोडेर अघि बढ्नु पर्ने बताए । पोखरा पर्यटन परिषदका कार्यवाहक अध्यक्ष चिरन्जिवि पोखरेलले नेपाल पर्यटन वोर्डको पदाधिकारी नियुक्ति गरी वोडलाई अधिकार सम्पन्न बनाउन माग गरे । उनले पोखराको मुख्य आकषर्णको केन्द्र फेवाताल संकटमा पर्दै गएकोले त्यसलाई समयमै संरक्षण गर्न माग समेत गरे ।
