
बिग न्युज, १० भदौ । भूकम्प प्रभावित सिन्धुपाल्चोकको ‘हाईबुङ’ गाऊँ पुर्ननिर्माणमा सहयोग गर्नका लागि पोखरामा ‘आवाज’ कन्सर्ट हुने भएको छ । बुद्धकुमारी फाउन्डेशनको आयोजनामा भदौ भदौ १२ गते पोखरा प्रदर्शनी केन्द्रमा साँगीतिक कन्सर्ट हुन लागेको हो । आयोजक संस्थाले विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर कन्सर्टको बारेमा जानकारी दिएको छ ।
शनिबार हुने कन्सर्टमा कभवेभ, रविन एण्ड दि न्यू रिभोलुसन, द स्याडोज नेपाल, द आउटसाईडर, लाउरे एण्ड ग्रुप लगाएतका ब्याण्डहरुले प्रस्तुती राख्नेछन् । ‘भूकम्पले भत्काएका हाईबुङ गाऊँका घरहरुलाई पुर्ननिर्माण गर्नका लागि हामीले सहयोग जुटाउन यो कन्सर्टको आयोजना गरेका हौँ ।’ बुद्धकुमारी फाउन्डेशनका संस्थापक बसुधा राईले भनिन्–‘पोखरेलीले यो कार्यक्रमलाई गज्जबले साथ दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’
यसअघि फाउन्डेशनले धरानमा ‘आवाज’ कन्सर्ट गरिसकेको छ । साउन २३ गते भएको कन्सर्टमा धरानमा करिब १० हजार दर्शक सहभागी भएका थिए । ‘पोखरामा कन्सर्टमा सहभागी हुनेहरुको संख्या अझै बाक्लो हुन्छ भन्ने हामीलाई लागेको छ ।’ आयोजकको तर्फबाट कन्सर्टका सहव्यवस्थापक सरोजन शाक्यले भने–‘पोखरेली तन्नेरी पुस्ताले रुचाएको ब्याण्डहरुको प्रस्तुती रहने भएकोले सहभागीता बढ्ने हामीले देखेका हौँ ।’ छोटो समय भएपनि प्रचारप्रसारलाई तिव्र पारेको बताउँदै उनले कन्सर्टमा आउँदा मनोरञ्जनसँगै सहयोग पनि हुने भएकोले सहभागीतको लागि सबैलाई आग्रह गरे ।
हाईबुङ गाऊँको पुर्ननिर्माणको लागि सहयोग उठाउन ‘आवाज’ कन्सर्ट धरान, पोखरासँगै चितवन, बुटवल र काठमाण्डौमा पनि हुनेछ । पाँचवटा शहरमा कन्सर्ट गरेर हाईबुङ गाऊँको लागि सम्पूर्ण खर्च कटाएर १५ लाख रुपैयाँ संकलन गर्ने संस्थाले अनुमान गरेको छ । र, उठेको सम्पूर्ण रकम गाऊँलाई पुर्ननिर्माण गर्नकै लागि खर्च गरिने संस्थाले जनाएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था बुद्धकुमारी फाउन्डेशनले भूकम्प प्रभावित १० जना बालबालिकालाई अध्ययनको व्यवस्था गरिदिएको छ । त्यस्तै संस्थाले भूकम्प प्रभावित क्षेत्र दोलखा, धादिङ, सिन्धुपाल्चोकमा पुगेर राहत वितरण, मेडिकल क्याम्प संचालनसँगै बालबालिकालाई संरक्षण दिने खालको तालिम दिने काम गरिसकेको छ ।
