सरकार र एन्फाले केही गरे दक्षिण एसियामै चम्किनेछौं : विमल, २२ वर्षपछि उपाधि

Share:

काठमाडौं, १३ भदौ । नेपाली फुटबलका आकर्षण एवं कप्तान विमिल घर्तिमगरले यो खुसी सारा नेपालीको सुसी भएको प्रतिक्रिया दिएका छन् । उनले यो खुसी कहाँ गएर बाँडौ जस्तो अनुभव भइरहेको सुनाए ।

विमलले नेपाल सरकार र अखिल नेपाल फुटबलसंघ एन्फाले नेपाली फुटबलका लागि केही गरि दिए दक्षिण एसियामा केही गरेर देखाउने दृढता जनाएका छन् । उनले यो सफलता १९ वर्षको नेपाली फुटबल टोलीमा मात्रै नभई सारा नेपालीको सफलता हो भने । उनले पहिलेको तुलनामा अहिले फुटबलप्रति आकर्षण बढेको बताए । जसले आफुहरुको भविष्य निर्धारण गरिरहेको उनको बुझाई छ ।

यस्तै, नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले २२ वर्ष पछि नेपालले एक पटक इतिहास रचेको सम्झिए । उनले उमेर समूहमा पहिलो उपाधि जितेर नेपालले इतिकास रचेको बताए । आफुलाई टोलीप्रति पूर्ण विश्वास रहेको सुनाए । सन् १९९३ मा नेपाली सिनियर टोलीले उपाधि जित्दा बालगोपाल महर्जन खेलाडी थिए ।

*****************************************************

२२ वर्षपछि उपाधि

साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्दै नेपालले उमेर समूहको फुटबलमा महत्वपूर्ण फड्को मारेको छ। दक्षिण एसियामा सबैखाले फुटबल (उमेर समूह र राष्ट्रिय टोली) मा बलियो मानिएको भारतलाई शनिबार टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

दुईपल्ट दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको यो पहिलोपल्ट हो। २२ वर्षयता राष्ट्रिय टोलीले दक्षिण एसियाली फुटबलमा स्वर्ण जित्न सकेको छैन।

पछिल्लोपल्ट बंगलादेशमा सन् १९९३ मा भएको छैटौं साग (तत्कालीन साफ) खेलकुदमा नेपालको सिनियर टोली च्याम्पियन बनेको थियो। संयोग नै मान्नुपर्छ त्यति बेला र अहिले यु–१९ दुवैको फाइनल प्रतिद्वन्द्वी भारत नै थियो र दुवै खेल नेपालले टाइब्रेकरमा पुगेर जितेको हो। २२ वर्षअघि २–२ को बराबरीपछि र यसपटक १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपालले बाजी मार्योत।

३१ औं मिनेटमा तेज तामाङको गोलबाट सुरुआती अग्रता लिए पनि अन्तिम सयममा सम्हालिन नसक्दा नेपालले नतिजाका लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो। दिनेश राजवंशीले पेनाल्टी बक्समा बल …ह्यान्ड’ गरेपछि भारतले पेनाल्टी पाएको थियो। ८७ औं मिनेटमा सहबाजले पेनाल्टीमा बराबरी गोल गरे। पेनाल्टी सुटआउटका नायक रहे नेपाली टोलीका गोलरक्षक सोजित गुरुङ। उनले मोइनुद्दिनको पहिलो पेनाल्टी रोक्दै नेपाललाई विजयोन्मुख बनाएका थिए। यता नेपालका लागि सबै पाँच जनाले गोल गरे। सोजितले जोगाएको पेनाल्टीकै कारण नेपाल क्षेत्रीय च्याम्पियन बन्न सफल भयो।

पछिल्लोपल्ट नेपालले स्वर्ण पदक जित्दा टोलीको महŒवपूर्ण सदस्य रहेका बालगोपाल महर्जन यसपटक मुख्य प्रशिक्षक थिए। टोलीको जितपछि उनले २२ वर्षअघिको सफलता स्मरण गरे। ‘त्यति बेला खेलाडी थिएँ। अहिले प्रशिक्षक छु। एउटा खेलाडी र प्रशिक्षकका रूपमा सफलता प्राप्त गर्दाको खुसी बयान गर्न सकिन्न,’ समर्थकमाझ घेरिएका महर्जनले सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फ मैदानमा भने, ‘यो खुसीका लागि हामीले निकै लामो प्रतीक्षा गर्नुपर्योर। यो जितको श्रेय खेलाडी, मेरो प्रशिक्षण टोली, व्यवस्थापन र दर्शकलाई जान्छ। सबैले हामीप्रति देखाएको विश्वासमा हामी खरो उत्रन सक्यौं। यति ठूलो जित त्यो पनि घरेलु मैदानमै यो त झन् दोहोरो खुसी हो।’

महर्जनले प्रयास गर्दा सफलता सम्भव भएको यो च्याम्पियनसिपले प्रमाणित गरेको बताए। ‘मैले झन्डै ४ वर्षदेखि यो टोली सम्हालिरहेको छु। लगातारको अभ्यास मेहनत र निरन्तरताकै कारण आज सफलता प्राप्त भएको हो,’ उनले थपे, ‘यसपटक हामीले अलग–अलग चार टोलीलाई हराएर उपाधि जितेका छौं। यो सानो सफलता होइन।’

समूह चरणमा भुटान र बंगलादेशलाई हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई पन्छाएको थियो। केही साताअघि यु–१६ को सेमिफाइनलमा भारतसँग पराजित नेपालले घरेलु मैदानको यु–१९ उपाधि बाहिरिन दिएन।

युवा टोलीका कप्तान विमल घर्तीमगरले फाइनल चाहेजस्तै भारत प्रतिद्वन्द्वी परेको र टिमवर्कमा उपाधि जित्न सफल भएको बताए। प्रशिक्षक महर्जनले उपाधि एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ र वैशाख १२ को विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरूप्रति समपर्ण गरे। …श्रेष्ठ अहिले हामीबीच हुनुहुन्न। हामीले उहाँले देखेको सपना थोरै भए पनि पूरा गर्न सक्यौं,’ भावुक हुँदै महर्जनले भने, …यसपटक भूकम्पले पनि हजारौंको ज्यान गयो। ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै यो उपाधि उहाँहरूमा समर्पण गर्दछौं।’ जेठ २९ मा भैंसेपाटीस्थित नयाँ घरमा सरेकै दिन करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो।

उमेर समूहमा सफलता प्राप्त गर्नुको एउटा मुख्य कारण एन्फाले सञ्चालन गरेको एन्फा एकेडेमी हो। श्रेष्ठ आफ्नो जीवन रहुन्जेल त्यही एकेडेमीलाई व्यवस्थापन र खेलाडीको चिन्तामा अहोरात्र खटिएका थिए। स्थापना गरेको झन्डै दुई दशक पुग्नै लाग्दा एकेडेमीबाट उत्पादित खेलाडीले पहिलोपल्ट आयोजित यु–१९ को उपाधि जित्यो।

युवा खेलाडीले जहाँबाट फुटबलका गुण सिके त्यहीं सातदाबाटोको मैदानबाट सफलताको कथा सुरु गरेका छन्। यस वर्ष एस्ट्रो टर्फ राखेपछि उक्त मैदानमा आयोजना भएको साफ यु–१९ पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यद्यपि यसअघिका उमेर समूहले पनि आंशिक सफलता दिलाएका थिए।

सन् १९९७ मा सुरु भएको एन्फा एकेडेमीको पहिलो ब्याच २००३ को एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणका लागि छनोट भएको थियो। त्यसपछि यु–१६ टोली पनि दुईपटक (२००६ र २०१३) एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट भइसकेको थियो। दुई बर्ष अघि महर्जनकै नेतृत्वमा यही टोली एएफसी यु–१६ को अन्तिम चरणका लागि छनोट भएको थियो। तथापि साफको तेस्रो संस्करणको समाप्तिसम्म नेपाल यु–१६ च्याम्पियन बन्न सकेको छैन। नेपालले आफ्नै भूमिमा २००२ र २००४ मा भएको एएफसी यु–१४ फेस्टिबल जितेको थियो।

नेपाल र भारतको सिनियर टोलीले मैत्रीपूर्ण खेल्ने दुई दिनअघि नेपालको युवा टोली भारतमाथि हाबी भएको छ। यो जित सिनियर टोलीका लागि पनि मनोबल उच्च पार्ने कारण बन्न सक्छ। सोमबार पुनेमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ।

प्रकाश तिमल्सिना/ सुजन श्रेष्ठ

कमेन्ट गर्नुहोस्
Share: