
रञ्जन अधिकारी पोखरा, १३ भदौ / गाईजात्रा पर्व आईतबारदेखि सुरु भएको छ । श्रावण शुक्ल पूणिर्मादेखि आठ दिनसम्म मनाइने यो जात्रा भाद्रकृष्ण अष्टमीसम्म जारी रहनेछ । काठमाडौँ उपत्यकाका तीन वटै शहरसहित मुलुकका मुख्य–मुख्य सहरमा मनाउने गरिन्छ । पोखरामा पनि नेवार जातिले यो पर्व धुमधामका साथ मनाउँदैछन् । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाए । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् । यस्तै, मानिसहरु दैत्य, दानवको भेषमा श्रंगारपटार गरी नाचगान गर्दै बजार घुमे । नेवार समुदायमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो वनाई वजार परिक्रमा गर्ने गरिन्छ ।
मृतकको घरबाट छुट्टाछुट्टै समूह निस्किएका थिए । आईतबार पूर्वान्हदेखि नै पोखराका सडक सडकमा गाईजात्रा देख्न सकिन्थ्यो । राजाले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी दिएको आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्गयात्मक कार्यक्रम पनि सुरु भयो भन्ने अर्को भनाइ पनि छ ।
रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाईभेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । यस अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यात्मक विशेषाङ्क निकाल्छन् भने हाँस्य समूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन् । काठमाण्डौं, पोखरा लगायतका विभिन्न स्थानमा हाँस्य कलाकारहरुले आफ्नो गाईजात्रे कार्यक्रम देखाईरहेका छन् ।
यसैबीच, नेवा खल कास्कीको आह्वान तथा नेवाःकचाः पुच र नेवाःमिसाःपुच पोखराको आयोजनामा गाइजात्रा पर्बको अवसरमा यही भदौ १९ गते आयोजना गर्ने गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको जानकारी दिएको छ ।
प्रतियोगितामा विभिन्न टोलले सहभागिता जनाउने बागबजार कचा खलका अध्यक्ष एवम कार्यक्रम संयोजक सुविन्द्र श्रेष्ठले बताए । तायमचा नृत्य प्रतियोगितामा प्रथम हुनेले ३१ हजार १ सय र खसी, दोस्रो हुनेले रु.२१ हजार १ सय र खसी को तृतिय हुनेले रु. ११ हजार १ सय र कुखुराको भाले पुरस्कार पाउनेछन् ।
बागबजारको खुला सडकमा महोत्सव अन्तर्गत भाद्र १९ गते विहान ८ वजेदेखि नै विभिन्न नेवारी परिकारहरु, नेवारी कला सँस्कृतिका झाँकी लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुनेछन् । विभिन्न उपसमितिले आफ्ना कार्यलाई तिब्रता दिएको उनले बताए ।
