
भाद्र १४ / काठमाडौं–नेपाली राष्ट्रिय टिमले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगै उसकै मैदान पुनेमा सोमबार गोलरहित बराबरी खेलेको छ । पहिलो हाफ भारतको नियन्त्रणमा भएपनि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । खेलाडी परिवर्तन गरेपछि नेपाल केहि आक्रामक बनेको थियो । तर, सुशील केसी गोलनजिक पुगेरपनि दोस्रो हाफमा उनको प्रहार पोष्टनजिकबाट बाहिरियो । नेपालले खेलमा पाएको सबभन्दा राम्रो अवसर त्यही हो ।
पहिलो हाफमा भारतका कीर्तिमानी गोलकर्ता सुनील क्षत्रीले पहिलो हाफमा राम्रो अवसर पाएका थिए । नेपाली गोलकिपर किरण चेम्जोङलाई वान भर्सेस वानमा उछिनेर पनि उनले बललाई पोष्टको दिन सकेनन् । उनको प्रहार बाहिर गयो ।
नेपाली गोलकिपर किरणले फेरि एकपल्ट राम्रो खेल प्रदर्शन गरे । त्यसैले नेपालले लगातार दुई खेल गोलरहित बराबरीमा टुंग्यायो । संयोगले यी दुवै खेल भारतसँग रह्यो । यसअघि चैत ३ मा दशरथ रंगशालामा भएको विश्वकप/एसियन कप छनोटको प्ले–अफको दोस्रोमा नेपालले भारतसँग गोलरहित नतिजा निकालेको थियो । त्यसअघि नेपालले लगाता सात खेल हारेको थियो ।
सन् २०१३ मा काठमाडौंमा भएको आठौं साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ ले पराजित गरेयता नेपालले जित हात पार्न सकेको छैन । नेपालले लगातार नौ खेलमा पनि गोलविहिन यात्रालाई पूर्णविराम लगाउन सकेन । विश्वकप/एसियन कप छनोटमा एसियाली महारथी इरानसँग सामना गर्नुअघि तयारमिा भारतले नेपालसँगै मैत्रीपूर्ण खेल खेलेको हो ।
एक खेलको जिम्मेवारी पाएका प्रशिक्षक ध्रुव केसीले यू–१९ का डिफेन्डर अनन्त तामाङ, मनाङमस्र्याङदीका विंगर सुशील केसी, आर्मीका फरवार्ड/मिडफिल्डर नवयुग श्रेष्ठ र पुलिसका फरवार्ड भरत शाहलाई अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराए ।
Ekantipur.com
