
महोत्तरी १६ भाद्र ।
संघीयता, प्रदेश सीमाङ्नको विषयमा कुरा नमिल्दा देशभरी आन्दोलन चर्किएको छ । विषेश गरेर तराईमा आन्दालन ह्रिंसात्मक बन्दै गएको छ । यसै क्रममा संघीयताको सीमाङ्कन विरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वर जिरोमाइल स्थित नेपाल प्रहरीको बिट बुधबार आगो लगाइदिएका छन् । जलेश्वरमा स्थिति अनियन्त्रित बनेपछि सुरक्षाकर्मीले चार राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेका छन् ।
जिल्लाको परिकौली, पिपरा, सहोडवा, सुगा, पिगौनाबाट आएका बन्दकर्ताहरुले प्रहरीलाई ढुंगामुढा गर्दै बिटमा आगजनी गरेका हुन् । झडपका क्रममा जिरोमाइल केही समय तनावग्रस्त बन्न पुगेको थियो ।
प्रर्दशनकारीहरुले सुरक्षार्थ खटिएका प्रहरीलाई ढुङ्गा प्रहार गरी बिट कब्जा गरी पल्टाएर तोडफोड गर्दै पेट्रोल छर्केर आगो लगाइदिएका हुन् । यसैगरी बन्दको अवज्ञा गरेको भन्दै सिनेमा हल चोकमा दुध बोकेको ज ४ प ६६२७ नम्वरको मोटरसाईकल समेत बन्दकर्ताले तोडफोड गरिदिएका छन् ।
चार राउन्ड अश्रुग्यास, एक राउन्ड हवाई फायर
बिहानैदेखि आन्दोलनकारी र प्रहरीबीच झडप भइपछि महोत्तरीको जलेश्वर तनावग्रस्त भएको छ । बिहान आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता जुलुस निकालेपछि जलेश्वर–५ स्थित महेन्द्र चौकमा झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड अश्रु ग्याँस, एक राउण्ड हवाई फायर गरेको छ ।बिहानैदेखि झडपको स्थिति सिर्जना भएपछि त्यहाँका स्थानीयबासिन्दा त्रसित बन्न पुगेका छन् ।
सदरमुकाम जलेश्वरमा प्रदर्शनकारीहरुको भीड आउने क्रम रोकिएको छैन.। जुलुस प्रर्दशनको क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै जलेश्वर नगर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित बाक्लो पारिएको छ ।
