
रञ्जन अधिकारी पोखरा, १७ भदौ। पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास समितिले आयोजना गर्न लागेको महिला उद्यमी मेला – २०७२ को तयारी पूरा भएको छ। महिला उद्यमी विकास समितिले पोखरामा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारी पूरा भएको जनाएको हो।
मेलाको सम्पूर्ण तयारी पूरा भएको छ समितिकी सभापति विन्दु कोइराला सुवेदीले भनिन् – मेला सभ्य र भव्य रुपमा सफल हुने आशा गरेका छौ। उनले मेला स्थलको व्यवस्थापन, स्ट्रल बुकिङ, प्रचार प्रसार लगायतका तयारी पूरा भएको बताईन्। सभापति कोइरालाले पछिल्लो समय केहि गरौ भन्ने भावनाका साथ महिलाहरु व्यवसायमा होमिने क्रम बढ्दै गइरहेको जानकारी दिईन्। आर्थिक सम्वृद्विका लागि उद्यमशीलता भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको मेला भदौ १७ देखि २० गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा संचालन हुदैछ।
महिलाहरुद्वारा उत्पादित बस्तु तथा सेवाको बजारिकरणमा सघाउने, महिलामा निहित सिपको उजागर गर्ने र महिलाहरुलाई प्रतिस्पर्धी बनाउने मुख्य उदेश्यले मेला आयोजना गर्न लागिएको हो। मेलामा हस्तकला सामान, घरायसी सामान, सौन्दर्यका सामान, दैनिक उपभोग्य बस्तुका गरी ८० वटा स्ट्रल रहने छन्। मेलामा महिला समुहवीच तीजे र दोहोरी गित प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती आकर्षणका रुपमा रहने छन्। मेला सम्पन्न गर्न ८ लाख खर्च लाग्ने र मेलाबाट १० लाख आम्दानी हुने अपेक्षा गरिएको छ। बचत रकम महिला उद्यमशीलता र सिप विकासका लागि खर्च गरिने बताइएको छ। एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले पोखरा सुरक्षित रहेको र जनजीवन सामान्य बनेको सन्देश दिन मेला सफल हुने विश्वास व्यत्त गरे। उनले पोखरालाई बन्द मुक्त बनाउनका लागि पहल भैरहेको जानकारी दिए। हामी पोखरालाई बन्द मुक्त क्षेत्र बनाउन चाहिरहेका छौ उनले भने – त्यसका लागि सवैपक्षसँग छलफल गर्दैछौ।
