जाल्पादेवी महिला उद्धार संस्थाको १७ औं साधारणसभा

Share:

रञ्जन अधिकारी पोखरा, १६ भदौ / पोखरा ८ सिमलचौर स्थित जाल्पादेवी महिला उद्धार संस्थाको १७ औं वार्षिक साधारणसभा पोखरामा बुधबार सम्पन्न भयो । सो अवसरमा सहयोगी व्यक्तित्वहरुलाई संस्थाले सम्मान पनि गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उपमहानगरपालिका कार्यालयकी प्रशासकीय अधिकृत कल्पना बरालले संस्थाले झण्डै दुई दशकको अवधिमा समाजको विकासमा निकै महत्वपूर्ण कार्यहरु गरिरहेको बताईन् । संस्थाले भुकम्प पीडितलाई सहयोगका साथै रक्तदान, ज्येष्ठ नागरिकलाई सहयोग हस्तान्तरण लगायतका कार्यहरु गरेको भन्दै सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरिन् । ‘राज्यले चाहेरै नचाहेरै आरक्षण तथा कोटाबाट हरेक निकायमा महिला सहभागिताको सुनिश्चितता गरेको छ ’ – उनले थपिन् – तर, यो आरक्षण निश्चित समयावधिपछि खारेज हुन्छ । त्यसैले पछिका लागि सोचेर प्रतिष्पर्धामा सक्षम बन्न महिलाहरु अहिलेदेखि नै क्षमता विकासमा जुट्नुपर्छ ।’

विशेष अतिथि सृजना विकास केन्द्रका अध्यक्ष राजु पौडेलले महिलाहरुलाई संगठित गरी क्षमता अभिवृद्धिमा जुटेको यो संस्था पोखराकै नमुना संस्था बनेको बताउँदै सामाजिक रुपान्तरणमा क्रियाशील बनिरहन सुझाव दिए । उनले सामाजिक कार्यहरु गर्दा कठिनाईहरु आउने भएपनि यसलाई निरन्तरता दिएर अघि बढ्न पनि आग्रह गरे ।

नेपाली काँग्रेसका नेता शोभियतबहादुर अधिकारीले दुई दशकअघि र अहिलेको अवस्था तुलना गर्दा अहिले महिलाहरुलाई सामाजिक कार्यमा जुट्न अत्यन्त सहजताको वातावरण सृजना भएको बताउँदै महिलाहरु यसरी नै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले नजिकिरहेको तीजको सन्दर्भ कोट्याउँदै तडकभडकरहित सुसभ्य ढंगले तीज मनाउन आग्रह गरे । ‘तीजमा सुनका गहना प्रदर्शन गर्नेहोईन, योग्यता र क्षमताको गहनाले पूर्ण महिलाको जहाँ पनि सम्मान हुन्छ ।’ उनले थपे – मानिसहरु अहिले काम नगरी खाने भईसके, लुट्नु सबैभन्दा सजिलो काम हो । गहनाले ज्यानलाई जोखिममा पार्छ ।’ उनले आयातित धर्मले हाम्रो संस्कारमा असर परेको बताए ।

अर्का नेता वीरेन्द्रनारायण बिजुक्छेले समाजलाई विकृति विसंगति मुक्त बनाउने अभियानमा जुटेका महिला दिदीबहिनीहरुको योगदान राज्य निर्माणमा पनि होस् भन्दै शुभेच्छा प्रकट गरे । उनले पोखराका नगरभित्र राम्रा काम गर्ने महिला छनौट गरी हरेक वर्ष सम्मान गर्न सुझाव दिँदै पुरस्कारका लागि आफूले अक्षयकोष खडा गरिदिने बताए ।

संस्थाकी संरक्षक शारदा सुवेदीले संस्था स्थापनाको स्मरण गर्दै सहयोग गर्ने बाबुआमाहरु अहिले स्वर्गवास भएको भन्दै रुँदै स्मरण गरिन् । उनले आमाबाबुलाई माया नगर्ने छोराछोरीको कहिल्यै भलो नहुने भएको बताउँदै अहिले चार तले घर देखाएर यो घरको बुहारी हुँ भन्ने मौका पाएकाले बुहारीहरुले सासु ससुराको सम्मान गर्नुपर्ने बताईन् ।

सृजना महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष कमला गिरीले दिदी बहिनी भेट भएर जम्मा भई आफ्ना बेदना पोख्ने तीज गीत अहिले सुनी साध्य नभएको, टिभिमा हेरीसाध्य नभएको भन्दै आक्रोश जनाईन् । टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८ का पार्वती पौडेलले महिलाहरुको यो संस्था नमुनायोग्य रहेको बताईन् । सो अवसरमा कृष्ण थापा, बलराम बराल लगायतले पनि बोलेका थिए ।

संस्थाकी अध्यक्ष पवित्रा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दुर्गा अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राधिका थापाले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष कान्ति अधिकारीले स्वागत गरेकी थिईन् भने संचालन सचिव अधिकारीले नै गरिन् ।

सो अवसरमा संस्थालाई सहयोग गर्नेहरु पार्वती बराल, सावित्री बराल, मञ्जु थापा, विभिन्न पदमा रहेर काम गर्ने सन्तुमाया गिरी, शान्ति सिग्देल, पवित्रा बराल, राधिका सिग्देल, विमला अधिकारी, विजयलक्ष्मी आचार्य, जानुका चालिेका साथै कलावति गिरीलाई सम्मान गरेका थिए भने संस्थाले गरेको कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरेकालाई पनि सम्मान गरिएको थियो । संगीता काफ्लेले संस्थालाई पोडियम पनि हस्तान्तरण गरिन् ।

कमेन्ट गर्नुहोस्
Share: