फिफा वरियतामा नेपाल सार्क राष्ट्रकै पुछारमा

Share:

काठमाडौं, भदौ १८ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले जारी गरेको पछिल्लो वरियतामा नेपाल सार्क राष्ट्रकै पुछारमा रहेको छ । अघिल्लो वरियताको तुलनामा नेपाल एक स्थान तल झरेको हो । बिहीबार जारी विश्व वरियतामा नेपाल १८५ औं स्थानमा छ । यसअघि नेपाल १८४ औं स्थानमा थियो ।

सार्क राष्ट्रमध्ये अफगानिस्तान पहिलो नम्बरमा रहेको छ । विश्व वरियतामा चार स्थान माथि उक्लदैं १३० औं स्थानमा रहेको अफगानिस्तान सार्क राष्ट्रको शीर्ष स्थानमा कायम रहेको हो ।

त्यसैगरी भारत विश्व वरियताको १५५ औं स्थानमा छ भने भुटान १६४ औं स्थानमा रहेको छ । पाकिस्तान विश्व वरियताको १७० औं स्थानमा रहँदा बंगलादेश तीन स्थान तल झर्दै १७३ औं स्थानमा छ भने माल्दिभ्स १७७ औं र श्रीलंका १८४ औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायम छ । त्यसैगरी दोस्रो नम्बरमा बेल्जियम, तेस्रोमा जर्मनी, चौथोमा कोलम्बिया र पाँचौंमा ब्राजिल रहेका छन् ।

त्यस्तै छैठौंमा पोर्चुगल र सातौंमा रोमानिया छ । अघिल्लो वरियताको तुलनामा शीर्ष सात टिमको स्थान फेरबदल भएको छैन । तर चिलीले दुई स्थान फड्को मार्दै अघिल्लो वरियतामा सुधारका साथ आफूलाई आठौं स्थानमा राख्न सफल भएको छ । नवौं स्थानमा वेल्स रहँदा इंग्ल्याण्ड भने दुई स्थान तल झर्दै दशौं स्थानमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: