
बिग न्युज पोखरा, २० भदौ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समितिले आयोजना गरेको महिला उद्यमी मेला–२०७२सकिएको छ । भदौ १७ देखि आयोजित चार दिने मेला आइतबार सम्पन्न भएको हो । समापन अवसरमा बोल्दै नेपाली काँग्रेसकी सभासद शारदा पौडेलले नयाँ संविधानको मस्यौदामा महिलालाई पर्याप्त अधिकार नदिईएको गुनासो गरिन् । ‘हामी संविधानसभाका १ सय ७३ जना महिला सभासद्हरुले उठाएका मागहरु संवोधन भएनन्’ उनले दुःखेसो पोखिन्– महिलालाई अवसर प्रदान तथा अधिकार दिने सवालमा नेतृत्वमा रहेका पुरुष नेताहरु संकिर्ण बने ।’
उनले जात, धर्म, वर्ण र क्षेत्रका आधारमा नेपाली समाजलाई विभाजन गराएर संविधान बन्न नदिने षड्यन्त्र भएको समेत बताईन् । नेपाली पहिचान बिर्सनु नहुनेमा जोड दिँदै उनले सदियौँदेखिको सामाजिक सद्भाव कसैले उक्साउँदैमा नभत्किने दाबी पनि गरिन् । ‘यहाँ पैसा कमाउनेको मूल्याङ्कन हुन्छ, घर धान्नेको महत्व बुझेको खै ?’, उनले प्रश्न गर्दै भनिन् – ‘महिलाको योगदानको मूल्याङ्कन नभएसम्म राष्ट्र अगाडि बढ्दैन ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले महिला उद्यमशीलताको विकासले महिलालाई आत्मनिर्भर बनाउनुका साथै देशको अर्थतन्त्र माथि उकास्न पनि योगदान दिने बताए । उनले बन्द र हड्ताल संस्कृतिको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको अभियानलाई सघाउन सबैसँग आग्रह गनि गरे ।
अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख एसएसपी बलराम शर्माले महिला र पुरुषबीचको आर्थिक असमानताले घरेलु हिंसा बढेको जानकारी दिँदै कमाउने महिलाले सम्मान र सुरक्षा दुबै प्राप्त गर्ने धारणा राखे ।
उद्यमी रामकली खड्काले हस्तकलाको काम महिलाको लागि उपर्युक्त पेशा भएको बताउँदै हस्तकलाको काममा लागेपछि साथी पनि बढ्ने पैसा पनि कमाइने जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी अध्यक्ष विन्दु कोइराला सुवेदीले महिलाहरु उद्यमशीलता बढाउन आयोजना गरिएको मेलालाई सघाउने सबैलाई धन्यवाद दिँदै उद्यमशीलता विकासको लागि निरन्तर लागिरहने बताइन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरिता थापाले कानूनमै महिला अधिकार सुनिश्चित भए मात्र महिला अगाडि बढ्न सक्ने धारणा राखिन् । महिलाहरु सवल भए हिंसा कम हुने उनको धारणा थियो ।
मेला समापनको अवसरमा पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार सुरेशराज राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य सीता गुरुङ, महिला उद्यमी चिनु गुरुङ,खहरे आमा समूहकी उपाध्यक्ष मैया थापा, उद्यमी सीता बराल लगायतले मन्तव्य राखेका थिए ।
मेलाको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा नारी उत्थान महिला समूह प्रथम भयो । कुल १८ वटा समूहहरुले प्रतिष्पर्धा गरेकोमा दोस्रो स्थान नमूना आमा समूह, तेस्रो स्थानमा विश्वकर्मा आमा समूह र सात्वना स्थान जाल्पादेवी आमा समूहले प्राप्त ग¥यो । विजेता टिमले प्रमाणपत्र सहित क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार प्राप्त गरे । महोत्सव अवधिभर सहभागी टिममा भने दृष्टिविहीन समूह पहिलो बन्दै नगद दुई हजार प्राप्त ग¥यो । दोस्रो स्थान वडा समन्वय समिति पोखरा –१८ ले प्राप्त ग¥यो भने तेस्रो स्थान प्राप्त गर्ने जगदम्बा आमा समूह र सान्त्वना हुने अनन्त सामुदायिक केन्द्रले क्रमशः एक हजार र पाँच सय रुपैयाँ प्राप्त गरे ।
मेला अन्तर्गत नै आयोजना गरिएको नेल (नङ) आर्ट प्रतियोगितामा सुनिता गुरुङ पहिलो र पवित्रा विक दोस्रो भए । हेयर स्टाइलमा पूजा गुरुङ पहिलो, प्रमिला गुरुङ दोस्रो र रिता मगर तेस्रो भए । यसैगरी, महोत्सवमा कृतिम फूल बनाउने प्रतियोतितामा सविता पुन पहिलो, गोमा शर्मा दोस्रो, यसोदा चापागाईँ तेस्रो भइन् । विजेताहरुले क्रमशः दुई हजार, १५ सय र एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
