
रञ्जन, रेम / पोखरा, २३ भदौ । जिल्ला शिक्षा कार्यालय, कास्कीले राष्ट्रिय शिक्षा दिवसका अवसरमा मंगलबार वितरण गरेको शैक्षिक पुरस्कार गलत व्यक्तिलाई दिईएको भन्दै आपत्ति जनाईएको छ । जिशिकाले पुरस्कार वितरण गर्दा लापरबाही गरेको गुनासो गर्दै सम्बन्धित पक्षले आफूले पाउनुपर्ने पुरस्कार अर्काले थापेको जानकारी गराएका छन् ।
२०७१ सालको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीको पुरस्कार शितलादेवी सामुदायिक उच्च माविकी पम्फा रानामगरलाई प्रदान गरिएको थियो । तर अमरसिंह उच्च माविकी छात्रा सचिना कुँवरले रानामगर भन्दा बढि अंक ल्याएको अभिभावकले जानकारी गराएका छन् । उनले परीक्षामा ८८.५० प्रतिशत ल्याएर कास्की जिल्लाको सामुदायिक स्कुलहरुको नतिजा टप गरेकी छन् । यद्यपी रानामगरले ८७ प्रतिशत मात्रै अंक प्राप्त गरेकी छिन् ।
‘यो त सरासर शिक्षा कार्यालयको लापरबाही देखिन्छ । जिम्मेवार निकायले पुरस्कार वितरण गर्ने जस्तो विषयमा यस्तो गल्ती गर्ने हो ?’ प्रश्न गर्दै सचिनाका अभिभावक कृष्णबहादुर कुँवरले भने– ‘जे गरे नी हुन्छ भन्ने खालको मानसिकतामा शिक्षा कार्यालयका कर्मचारीहरुले काम गरेको देखिन्छ ।’ यस्तो लापरबाहिकै कारणले धेरै विद्यार्थी र अभिभावकहरु मारमा परेको उनले बताए । उनले नियतवश कर्मचारीहरुले यस्तो काम गरेको पनि आरोप लगाए । आफन्त एकेन्द्र कुँवरले शिक्षा कार्यालयले छिट्टै भुलसुधार गरी सार्वजनिक समारोहबीच पुरस्कार वितरण गर्नुपर्ने बताए ।
यद्यपी शिक्षा कार्यालयले भने यो भुलवश भएको स्वीकार गरेको छ । कार्यालयका परीक्षा शाखा प्रमुख गोविन्द पोखरेलले शिक्षा कार्यालयको तर्फबाट सामुदायिक स्कुलहरुमा जिल्लाकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी छनौट गरेका थिए । ‘कतिपटक काम गर्ने बेलामा यस्ता त्रुटीहरु हुन्छन् । र, हामी हामीले गरेको गल्तीको प्रायश्चित गर्छौँ’ – सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले भने– ‘यस्तो भुलसुधार तुरुन्तै स्थानिय पत्रपत्रिकामा निकाल्नुका साथै सचिनालाई चाँडै कुनै समारोहको अवसर पारेर उत्कृष्ट अंक ल्याउने विद्यार्थीको रुपमा सम्मान गर्छौँ ।’
जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले पनिकाले पठाउने रेकर्ड सम्बन्धित विद्यालयले नै लैजाने जनाउँदै यसअघि नै विद्यालयले जानकारी गराएको भए यस्तो विवाद नआउने बताए । ‘पाँच सात सम्मान कार्यक्रमहरुमा म आफै गएको छु । खै, कहिले विरोध आएन’ –आचार्यले भने – ‘अहिले अकस्मात विवाद आयो । अर्को विद्यार्थीको बढि अंक आएको भए प्रमाण सहित आउन म अनुरोध गर्दछु । करेक्शन हुनेछ ।’
अमरसिंह उच्च माविका प्राचार्य केशव आचार्यले भने आफ्नो विद्यालयबाट सम्पूर्ण कागजात जिल्ला शिक्षा कार्यालयमा पठाएको बताए । ‘कार्यालयले भुलवश भएको बताएकोले अगाडि कुनै प्रकृया नअपनाई संयम अपनाएका छौँ’ – आचार्यले भने– ‘हामीले सम्पूर्ण कागजात पठाईसकेका थियौं । यसरी गल्ती गर्नुहुने थिएन ।’
