आज महिलाहरुको महान पर्व तीज

Share:

भदौ ३० गते

नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ ।

प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजको अवसरमा आज बिहानैदेखि देशभरका विभिन्न शिव मन्दिरहरुमा महिलाहरुको भीड लागेको छ ।

परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् ।

बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा महिला व्रतालुको ठूलो भीड लाग्छ ।यसै गरी पोखराको लामाचौरमा पनि हरितालिका तिजको अबसरमा  मेलाको आयोजना गरिएको छ । पोखराका बिन्दबासिनी, केदारेश्वर जस्ता देवालयहरुमा महिलाहरु जम्मा भएर नाचगान गरेका छन । बिभिन्न ठाउहरुमा महिलाहरुले तिजको भाकामा गित गाएर  महिलाहरुको बेदना  र पिडा ब्यत्तः गर्ने चाडका रुपमा तिज पर्ब लाई लिईन्छ । आफुले बर्ष भरी भोगेका पिडा र बेदनाका कुरालाई गितमा  ढालेर एक आपसमा साटासाट गरेर महिलाहरुले पिडा हलुको बनाउने परम्परा अनुसार तिज पर्बको बिकास भएपनि आजभोली तिजमा पनि बिकृति भित्रिएको छ । 

कमेन्ट गर्नुहोस्
Share: