
राजन गोदार
काठमाण्डौ, ३० भदौ | नेपाल सरकार यतिबेला परामर्श उद्योगलाई नियमन गर्ने हेतुले निती तथा निर्देशिकाको मस्यौदा बनाइरहेको सुचनालाई लिएर यस क्षेत्रका अगुवा उत्तम प्रसाद पन्त चिन्तीत छन् । ती मस्यौदाहरुको अनुमोदन भैसकेपछि स्वतः कानुन बन्छन् ।
यस क्रममा यस उद्योग र यस क्षेत्रमा कार्यरत कसैका लागि पनि सम्भवत व्यवहारिक नहुने निती तथा निर्देशिकाको संकेत देखिएको छ । तर सरकारी नितीले उद्योगको आवश्यक्ताको उचित सम्बोधन गर्नुपर्छ न कि आक्रमण भन्दै यस उद्योगमाथिको यस्तो नितीगत आक्रमण रोक्न सम्पुर्ण उद्योगको प्रतिनिधित्व गर्ने गरी सशक्त, आधिकारिक र एकिकृत आवाज उठाउनुपर्ने अत्यन्तै महत्वपुर्ण र संवेदनशिल समय आएको छ, पन्तले बताए ।
पन्त भन्छन् कि ईक्यान, फेकोन, आइरिन, नाएर, इइसि–नेपाल र यस्तै विभिन्न टुक्राहरुमा यो उद्योग बाँडिएको र यिमध्ये कुनै एकले पनि एक्लै सम्पुर्ण उद्योगको प्रतिनिधित्व गर्न सक्दैन ।
हामीले हाम्रो हितको रक्षा कसरी गर्ने, यस उद्योगलाई कसरी मजबुत र शक्तिशाली बनाउने भन्ने विषयमा यस क्षेत्रका समग्र शुभेच्छुकहरुलाई सँगै मिलेर गम्भिर रुपमा सोंच्न, छलफल गर्न पन्तले आव्हान नै गरेका छन् । यि विभिन्न संस्थाहरु आँफैमा फरक छन् तर उद्योग एउटै हो र यो समग्र उद्योगको हितका लागि हाम्रा फरकहरुलाई छेउमा राखेर अब पनि मिलिएन भने निकै ढिलो हुन जाने विषयमा पन्त आँफू निकै गम्भिर भएको बताए ।
अधिकारप्राप्त निकायहरुले यो क्षेत्रलाई एक उद्योगको रुपमा स्वीकार गरेपनि उद्योग आँफैमा शिशु अवस्थामा नै रहेको र यसले बेहोर्न पर्ने समस्याहरु अझै थुप्रै रहेको र तिनको तत्काल सम्बोधन र समाधान गरिनुपर्ने आवश्यक्ता टड्कारो रहेको पनि उनले बताए । जसका लागि एकिकृत र एकै स्वरको बलियो आवाजमा यस उद्योग बोलेपछि मात्रै राष्ट्रिय–अन्तराष्ट्रिय निकायहरुले हामीलाई विश्वास गर्ने र सुन्ने सम्भावना भएको जिकिर गर्दै यि विषयहरुमा सबैलाई शिघ्र अर्थपुर्ण छलफलका लागि एक पत्रमार्फत निम्तो दिएका छन् ।
