
असोज ४ गते,
संविधान घोषणा भएको खुशियालीमा सरकारको आव्हनमा प्रमुख तीन राजनीतिक दलहरुले आज काठमाडौंको टुँडिखेलमा राष्ट्रिय उत्सव मनाउँदैछन् ।
संविधान जारी भएपछि देशभर हर्षोल्लास मनाएका करौडो। नेपालीहरुले यो राष्ट्रिय उत्सवलाई समर्थन गरेका छन् । आइतबार साँझ देशैभरको रौनक दशैं तिहारको झल्को दिने खालको देखिन्थ्यो ।
आज नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले आयोजना गरेको संयुक्त आमसभा र विजय र्यालीमा लाखौं नेपाली जनताको सहभागिता हुने अनुमान गरिएको छ ।
नेकपा एमालेले मात्रै आज ४० हजारभन्दा बढीलाई चियापान गर्ने तयारी गरिरहेको छ भने एमाओवादी र नेपाली काँग्रेसले समेत त्यत्तिकै हाराहारीमा कार्यकर्ता तथा समर्थकहरु टुँडिखेलमा ओराल्ने अनुमान गरिएको छ ।
आजको संयुक्त सभा ऐतिहासिक सभा हुनसक्ने धेरैले आंकलन गरेका छन् । सरकारकै तर्फबाट आयोजना गरिएको सभा भएकाले पनि यो सभामा गैर राजनीतिक व्यक्तित्वहरुको सहभागिता पनि उत्तिकै बढी हुनेछ ।
सभालाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको थियो ।
प्रमुख तीन दलका शीर्ष नेताहरु १२ बजे उक्त ठाउँमा भेला भएर र्यालीको नेतृत्व गर्नेछन् । र्याली दिउँसो एकबजे सैनिकमञ्च टुँडिखेलमा पुगेर सभामा परिणत हुनेछ ।
