भारतको गतिविधि अन्तर्राष्ट्रिय कानुन विरुद्धः मन्त्री अधिकारी

Share:

रञ्जन अधिकारी पोखरा, १० असोज / स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले तेल लगायतका दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति गर्न भारतीय पक्षसँग कुटनीतिक पहल जारी रहेको जानकारी दिएका छन् । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीले जनजीवन नराम्ररी प्रभावित बन्दै गएको अवस्थामा उनले अब यो संकट धेरै दिन नरहने बताए ।

पोखराका सञ्चारकर्मीसँग कुरा गर्दै उनले तराई मधेश क्षेत्रमा डेढ महिना अघिबाट आन्दोलन भएको र यो भन्दा स्थिति विग्रिएको अवस्थामा समेत निर्वाध रुपमा आयात निर्यात भईरहेको स्मरण गर्दै अहिले मधेश आन्दोलन र सुरक्षाको कारण देखाउँदै ढुवानी ठप्प पारेकाले भारतले के गरेको भन्ने सबैले बुझेको बताए । भारतले असन्तुष्टि जनाएरै नाकाबन्दी गरेको भन्ने स्पष्ट रुपमा नबताएका मन्त्री अधिकारीले पहिले कुनै समस्या नभएको तर संविधान जारी भएपछि यो अवस्था सृजना भएको तर्फ सोझो संकेत गरे ।

उनले भारतलाई मालसामान ल्याउने लैजाने क्रममा सुरक्षाकै चिन्ता लागेको हो भने नेपाल सरकार सबै सवारीको सुरक्षा दिन तयार रहेको समेत बताए । भारतको गतिविधि अन्तर्राष्ट्रिय कानुन विरुद्ध रहेको भन्दै उनले भुपेरिवेष्ठित राष्ट्रबारे संयुक्त राष्ट्रसंघीय महासन्धी भारतले हस्ताक्षरकर्ता भएर पनि विर्सेको बताए । अन्तराष्ट्रिय कानुन र मान्यतामा सिमा नाकामा रोक लगाउन नपाईने बताउँदै अधिकारीले भारतको गलत नियत देखिएको बताए।

तराईको आन्दोलनको कारण देखाएको भारतले नेपाल सरकारले आन्दोलनकारीलाई हटाउन खोज्दा समेत भारतले असहयोग गरेको प्रष्ट पारे । ‘मान्छे रोकिनै नमिल्ने नो मेन्स ल्णडमा आन्दोलनकारी छन् । हामीले हटाउन खोज्छौं, भारतले परोक्ष साथ दिएको छ।’ उनले भने– ‘भारतले के गरेको भन्ने बारे अब मैले तपाईंहरुलाई भनिरहनुपर्छ ? सबले स्पष्ट बुझेको छ ।’

मन्त्री अधिकारीले छिमेकी मुलुकका विरुद्ध नेपालको भूमि किमार्थ प्रयोग हुने नदिने बताउँदै नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुकले देखाएको आवश्यक चाँसोको सम्मान गरिने तर अनावश्यक हस्तक्षेपलाई स्वीकार्न नसकिने बताए । ‘यस्तो चासो कस्तो चासो हो ? के गर्न खोज्या हो ? यसबारेमा मैले तर्कगत रुपमा भनिसकेको छु ।’ उनले भने– ‘नेपाली भूमि कुनै छिमेकी विरुद्ध अरुलाई प्रयोग गर्न नेपाल सरकारले किमार्थ दिँदैन ।’

चिनियातर्फका नाका खुलाउने बारेमा पनि चिनिया अधिकारीहरुसँग छलफल भइरहेको पनि उनले बताए । उनले तराईका असन्तुष्ट दलहरुसँग वार्ताको लागि प्रयास भइरहेको र केही दिनमै तराईमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्रसंघीय महासभामा पनि नेपालले भाग लिएको र राष्ट्र संघ लगायतसँग कुटनीतिक तबरले कुरा गरिने उनले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
Share: