
बिहीबार १४ असोज,
लखनउ (भारत)-
मधेसवादी दलको मुद्दालाई लिएर भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहँदा मधेससँग सीमा जोडिएको प्रमुख राज्य उत्तरप्रदेशका नेताहरूले त्यसको आलोचना गरेका छन्। भारत सरकारको गलत विदेश नीतिका कारण दुवै देशका जनताले दुःख पाएको उनीहरुले प्रतिक्रिया दिए। मधेसी समुदायसँग वार्ता गरी नेपाल सरकारले नै समस्या सुल्झाउनुपर्ने र भारतले कूटनीटिक माध्यमबाट सहयोग गर्नुपर्ने उनीहरुको सुझाव छ। भारतीय राष्ट्रिय कांग्रेसका उत्तरप्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री सत्यदेव त्रिपाठी मोदी सरकारको गलत विदेश नीतिका कारण दुई देशबीचको सम्बन्ध चिसिएको बताउँछन्। ‘दुई देशबीच परापूर्वकालदेखि नै सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध रही आएको छ,’ उनले भने, ‘अहिले आएर सरकारको गलत विदेश नीतिले समस्या देखियो।’
मोदी सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा छिमेकीलाई चिढ्याउने गरी सिधै नेपालमा प्रवेश गरेको उनले आरोप लगाए। नेपालमा भइरहेको अघोषित नाकाबन्दी गलत भएको उनको भनाइ छ। उत्तरप्रदेश विधानसभा सदस्य माधुरी बर्मा भारतले नाकामा गरेको कडाइले दुई देशका सीमा क्षेत्रमा बसोबास गर्ने जनतालाई मार परेको बताउँछिन्। यसले दुखित बनाए पनि त्यसको समाधान आफूसँग नभएको उनको भनाइ छ। ‘भारतले नाकाबन्दी गर्नु गलत हो,’ सीमावर्ती बहराइच जिल्लाबाट प्रतिनिधित्व गर्ने विधायक बर्माले भनिन्, ‘केन्द्र सरकारले कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ।’ नाकाबन्दीका कारण करिब २० करोड जनता बसोबास गर्ने भारतको सबैभन्दा ठूलो (जनसंख्याको हिसाबले) यो प्रदेशमा भारतीय जनताले पनि मार खेपिरहेका छन्। नेपालसँग प्रत्यक्ष सीमा जोडिएका पिलिभित, लखिमपुर, बहराइच, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्ज र श्रावस्ती जिल्लाका जनता दोहोरो मारमा छन्। सीमाक्षेत्रको तनावले प्रदेशका ७५ मध्ये अधिकांश जिल्ला प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
यो समस्याबारे केन्द्रमा सत्तासीन भारतीय जनता पार्टीलाई जानकारी नभएको होइन। उक्त पार्टीका उत्तरप्रदेश अध्यक्ष लक्ष्मीकान्त बाजपेयी सीमावर्ती क्षेत्रका जनताको समस्या टिपोट गरी केन्द्रमा पठाइसकेको बताउँछन्। ‘दुई देशबीचको असमझदारीले पक्कै पनि सीमावर्ती क्षेत्रका जनतालाई अप्ठ्यारो परिरहेको छ, यस विषयमा हामीले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘नेपालले भनेजस्तो नाकाबन्दी भने भारतले गरेको छैन, सीमामा बढेको असुरक्षाले मालसामान जान नसकेको पक्कै हो।’ उत्तरप्रदेशका नेताहरु केन्द्र सरकारको गलत विदेश नीतिका कारण जनस्तरमा परेको समस्याबारे जति चिन्तित छन्, उत्तिकै नेपालमा बसोबास गर्ने मधेसी समुदायको मागप्रति पनि चासो देखाउँछन्।कांग्रेस उपाध्यक्ष त्रिपाठी रोटीबेटीको सम्बन्ध रहेको समुदायले उठाएको माग सम्बोधन हुनुपर्छ भन्ने आफूहरुको आकांक्षा रहेको बताउँछन्। तर, यसको समाधान नेपाल सरकार र मधेसी समुदायबीच बार्ताबाटै गर्नुपर्ने उनको सुझाव छ। मधेसका पाका नेता महन्थ ठाकुरले वार्ताको अग्रता लिएको खबरले केही आशा जागेको उनले बताए। ‘नेपालका मधेसी जनताले आफ्नो अधिकार खोजेका हुन् भने त्यो दिनुपर्छ,’ उनले भने, ‘यसमा भारतले जबरजस्ती भूमिका निभाउनु जरुरी छैन।’ नेपालको राजनीतिक नेतृत्वले वार्ताको माध्यमबाट समस्या समाधान खोज्नुपर्नेमा उनले जोड दिए।
