बिग आईकन मुस्कान लण्डनमा पनि व्यस्त

Share:

लन्डन । पोखराको बिग एफएम १०१.२ मेगाहर्जले वर्षेनी आयोजना गर्ने गायन रियालिटी शो बिग आइकनकी चौंथो विजेता मुस्कान रानाभाट यतिखेर यूके भ्रमणको अवसरले दंग छिन् । ‘बिग आइकन भएपछि त मेरो जीवनमै परिवर्तन आयो’, एक सांझ लन्डनमा भेटिएकी उनले सुनाइन, ‘अचेल बिग आइकन भनेर धेरैले चिन्छन् । यसैको प्रतिफल अहिले लन्डन घुम्न पाएकी छु ।’

काठमाण्डौंस्थित द ब्रिटिश कलेजको प्रायोजन र लन्डनबाट प्रकाशित हुने युरोपको नेपालीपत्रको व्यवस्थापनमा उनी लन्डन घुम्न आएकी हुन् । उनको साथमा बिग एफएमका अध्यक्ष महेश भण्डारी समेत छन् । मुस्कानले लन्डन आएका बेला घुमघाममात्र होइन, विभिन्न कार्यक्रममा गायनमा समेत सहभागी भएकी छिन् । शनिवार मात्रै लन्डनस्थित गोर्खा स्पाइस रेष्टुरेन्टमा सुजन पराजुलीका साथ एउटा शोमा बेजोड प्रस्तुति दिएकी मुस्कानले आइतबार रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीको दशैं तिहार कार्यक्रममा पनि सयौं दर्शकको मन जितिन ।

8W5A9928‘बिग आइकन उपाधिले मेरो गायन करिअरमा पनि ठूलो टेवा दिएको छ’, उनी प्रसन्न छिन । ११ वर्षको उमेरमै वाल गीतहरुको संग्रह ‘बेबी मुस्कान’ निकालेकी मुस्कानको अर्को एल्बम आउने तयारीमा छ । सात वर्षयता गायन प्रशिक्षण लिइरहेकी उनी गीत संगीतमै समर्पण हुने बताउंछिन् । उनलाई बाबा महेश रानाभाट र आमा मन्जु रानाभाटको पनि साथ छ ।

जुनसुकै उमेर समूहले भाग लिन पाउने उक्त प्रतियोगिताको छैटौं संस्करण यही मंसिर १ मा हुंदैछ । बिग एफएमका अध्यक्ष महेश भण्डारीले स्थानीय प्रतिभाहरुलाई अवसर दिन र संगीत पुनर्जागरणका लागि प्रतियोगिता गरिएको जनाए । ‘संगीतको उर्वर भूमि पोखराबाट लोकल ट्यालेन्ट निस्किएनन, संगीत सिर्जना भएन भनेर हामीले प्रतियोगिताको परिकल्पना गर्यौं’, भण्डारी भन्छन्, ‘हामी विजेतालाई अन्तर्रा्ष्टि्रय मञ्चको अवसर दिएर नेपाली संगीत प्रवर्धन गर्ने प्रयासमा तल्लीन छौं ।’

डेढ लाख रुपैयां वा मोटर बाइक पुरस्कार राशीको उक्त गायन प्रतियोगितामा गत वर्ष ४९ जिल्लाबाट करिब ९ सयले भाग लिएको भण्डारीले जनाए । पप वा आधुनिक गीत गाउन सकिने उक्त प्रतियोगितामा २५ अडिसनमार्फत अन्तिम तीन जना छानेर दर्शकको एसएमएस भोट मार्फत एकजना विजेता चुन्ने प्रावधान छ ।

हालसम्म म्याग्दीका गगन पुन पहिलो विजेता, पोखराका सुमन गौतम दोश्रो, सर्लाहीका नवीन काफ्ले तेश्रो, पोखराकी मुस्कान रानाभाट चौंथो र मुस्ताङका कुन्साङ गुरुङ पांचौं विजेता भइसकेका छन् । भण्डारी बिग आइकन विजेताले अन्तर्रा्ष्टिय स्तरमा अवसरमा पाइसकेको र उनीहरुले एल्बम समेत निकालेको बताउंछन् ।

विवादरहित र व्यवसायिक कार्यक्रमले यसको लोकप्रियता झन् बढ्दो छ, उनले दावी गरे । पहिलो प्रतियोगितामा ३५ जिल्लाबाट ६५० जनाको सहभागिता रहेकामा गत वर्ष ४९ जिल्लाबाट सहभागी संख्या करिब ९ सय पुगेको थियो ।

तस्बिर : कुशल श्रेष्ठ

Source: www.nepalipatra.com

कमेन्ट गर्नुहोस्
Share: