
राजन गोदार/काठमाडौं, २९ असोज । मेट्स एजुकेसनले काठमाडौंको मध्य–बानेश्वरमा शाखा स्थापना गरेको छ । सन् २००७ मा काठमाडौंको पुतलीसडकमा स्थापित भएर मेट्स एजुकेसनले आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो । चितवनको नारायणगढमा सन् २००८ मा आफ्नो शाखा खोलेको मेट्स एजुकेसनले २०१५ सम्म अन्य कतैपनि आफ्नो शाखा बिस्तार गरेको थिएन ।
चितवन शाखा खोलेको ७ वर्षपछि मात्रै खोलिएको मेट्स एजुकेसनको यो कदमलाई स्पष्ट पार्दै सम्भावना अध्ययनमा लामो समय बिताएपछि दिर्घकालिन सोंच र योजनासहित यो शाखा खोलिएको बताउँछन् मेट्स एजुकेसनका निर्देशक प्रकाश पान्डे । युवा ज्योतिष हरिहर अधिकारीको समुपस्थिती, ईक्यान पदाधिकारी/सदस्यहरु, संचारकर्मी र अन्य व्यक्तित्वहरुको उपस्थितीबीच असोज २७ गते उदघाटन भएको यस संस्थाले वैदेशिक अध्ययन परामर्शको सेवा सुरु गरेको छ ।
निर्देशक पान्डेले वैदेशिक अध्ययनका गन्तव्यहरुमध्ये अष्ट्रेलियालाई केन्द्रमा राखेर यसले आफ्नो सेवा समर्पण गर्ने बताएका छन् । इ.ए.टि.सी र पि.आइ.इ.आर. जस्ता कोर्सहरुबाट तालिमप्राप्त परामर्शदाताहरुको परामर्शबाट मेट्स एजुकेसनले आफ्नो सेवालाई विश्वसनीय र भरपर्दो बनाउने विश्वास बोकेको बताउँदै भुकम्प, देशको अस्थिर आर्थिक–राजनितीक अवस्था, नाकाबन्दि जस्ता समस्याहरुले ग्रस्त भएको समयमा पनि शाखा खोल्नु लामो समयका लागि सोंचेर गरिएको निर्णय भएको पनि उनले बताए ।
केन्द्रिय कार्यालयबाट मात्रै यस उपत्यकामा बढ्दै गइरहेको विद्यार्थीको संख्यालाई सेवाविस्तार नगरिकन सहज रुपमा सेवा प्रदान गर्नु जटिल हुँदै गैरहेको कारण पनि आफ्नो सेवा विस्तार गर्नुको विकल्प रोजेको उनले बताए । यस शाखालाई स्थापित गर्दै आगामी ५–६ महिनामा पोखरामा अर्को शाखा खोल्ने योजना बनाएको मेट्स एजुकेसनले आफूले दिने सूचना, जानकारी तथा परामर्शका लागि आफूले वर्षौदेखि गर्दै आइरहेको मेहनत र अनुसन्धानका कारण अब विस्तार सहज भएको बताउँछन् निर्देशक पान्डे ।
विभिन्न अष्ट्रेलियाली शैक्षिक संस्थाहरुको प्रवर्द्धन गर्दै आइरहेको यस संस्थाले आजसम्म स्वयम् प्रत्यक्ष रुपमा ती शैक्षिक संस्थाहरुमा नगइकन र नबुझिकन उक्त संस्थाको बारेमा परामर्श कहिल्यै नदिएको र अब पनि आफ्नो सेवालाई विश्वसनिय बनाउन सँधै यो अभ्यास जारी राख्ने पनि उनले बताए ।
Source: SajhaPost

