
रञ्जन अधिकारी पोखरा, १ कार्तिक / ‘परापुर्वकालदेखि दशैंलाई असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा मनाउँदै आएका छौं’– प्रा. डा. दिलबहादुर क्षेत्रीले भने– ‘अहिले भारतले लगाएको नाकाबन्दी हेपाहा प्रवृत्तिको ज्वलन्त उदाहरण हो । हामी स्वाभिमानी नेपालीले यो अपराध विरुद्ध डटेर सामना गरौं, दुर्गामाताले यही आर्शिवाद प्रदान गरुन् ।’
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालले महान पर्व बडादशैं, दीपावली, छठ पर्वको अवसरमा पोखरामा आईतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्राज्ञिक व्यक्तित्वका तर्फबाट बोल्दै उनले तन, मन, ध्यान दिएर सबै नेपाली एकजुट भएर सडकमा निस्कने हो भने विश्व समुदायको ध्यानाकर्षण हुने र भारतमाथि नेपालको विजय हुने बताए । डा. क्षेत्रीले समितिको यो ओजपूर्ण नामले नै राष्ट्र, राष्ट्रियता र राष्ट्रका सम्पतीको संरक्षण गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए ।
सल्लाहकारका तर्फबाट मन्तव्य दिँदै वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बामपन्थी विचार जागेको बेला हरेक चाडपर्वहरु सामन्तीका प्रतिक जस्तो लाग्ने स्मरण गर्दै चाडपर्वहरु युगानुकुल, जनपयोगी तथा मुलुक राष्ट्र उपयोगी हुने किसिमले मनाउँदै जानुपर्ने उल्लेख गरे । उनले प्रजातन्त्र, गणतन्त्र तथा मधेशका अधिकारका नाममा भारत पसिरहँदा नेपाल हेरिरहेको भन्दै यस्तो अकर्मण्यता दोहोरिन नहुने बताए । ‘जति जे गरे उसकै स्वार्थका लागि गरे’ – उनले भने– ‘ईतिहासबाट पाठ सिक्दै नसच्चिए सजायँ पाईन्छ, अहिले हामी त्यही सजायँ भोगिरहेका छौं ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष प्रा.डा. भवानीप्रसाद पाण्डेले हिमाल, पहाड, तराई, जातजाति समृद्ध नभएसम्म मुलुकले स्थायित्व, शान्ति र समृद्धि प्राप्त गर्न नसक्ने भएकाले सबै समान हिसाबले अघि बढ्न जरुरी रहेको बताए । उनले अनुत्पादक श्रममा जीवन विताएका महिलाहरु अघि सरेर राष्ट्र निर्माण अभियानमा सामेल हुनुपर्ने पनि बताए ।
साहित्यकारका तर्फबाट भनाई राख्दै दुर्गाबहादुर शाह ‘बाबा’ ले देशले अहिले भोगिरहेको यो अवस्था राम्रो नभएको बताउँदै अभावमा पनि खुशीसाथ दशैं मान्नुपर्ने बताए । ‘भए खाउँ मिठो, नभए खाउँ पिठो ।’ – उनले भने । सचेतना समाज पोखराका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र थापामगरले महिलाहरुलाई लक्ष्मी, सरस्वती, दुर्गाका प्रतिमुर्ति भनिएपनि सदियौंदेखि उनीहरुलाई नै थिचोमिचोमा पारिँदै आएको बताए । उनले यसरी अधिकाविहीन महिलाहरुलाई अगाडि ल्याउन आवश्वय रहेको बताए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले समिति केहि सुस्ताएको गुनासो गर्दै ईन्धन अभावको यो घडीमा कालोबजारी रोक्न सक्रियता लिनुपर्नेमा जोड दिए । उनले भने– ‘मैले सिडिओ, प्रहरी प्रमुखलाई पनि भनेँ तर मनन भएन ।’
पोखरा नगरस्तरीय महिला समन्वय समिति अध्यक्ष पवित्रा गुरुङले नेपालको सभामुख जस्तो गरिमामय पदमा पहिलो पटक महिला पुग्न सफल भएकोमा खुशी प्रकट गर्दै अब महिलाहरु एक भएर अघि बढ्नुपर्ने आश्वयकता औंल्याईन् । मानवमिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्मा, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरीता थापाले नयाँ संविधान प्राप्तिसँगै अब मुलुक समृद्धिको दिशातिर उन्मुख हुने विश्वास लिँदै दशैंको अवसरमा सबै नेपालीलाई शुभकामना प्रकट गरे ।
सञ्चारिका समूह पश्चिमाञ्चलकी संयोजक जमुना वर्षा शर्माले तीन तिर फर्किएका मुख्य दलहरु विनाशकारी भुकम्पबाट एक ठाउँमा उभिएर संविधान जारी गरेपनि अहिले भारतको नाकाबन्दीको असरले जनजीवन अस्तव्यस्त हुँदा फेरि दलहरु मिल्नुपर्ने खाँचो औंल्याईन् । पत्रकार रञ्जन अधिकारीले चाडबाडको अवस्थालाई मध्यनजर गर्दै नाकाबन्दीको सन्दर्भमा पहलकदमी लिनुपर्ने नयाँ सरकार सत्ता समिकरणमै अड्केको गुनासो गर्दै यहाँका नागरिक अगुवाहरुले ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता बोध गराए ।
सो अवसरमा पाँच महिलाहरु शशी तुलाचन, पवित्रा गुरुङ, सावित्री शर्मा, सरीता थापा र जमुना वर्षा शर्मालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रामबहादुर पौडेलले गरेका थिए ।
