
रञ्जन अधिकारी पोखरा, २१ कार्तिक । पोखरेली युवा सांस्कृतिक परिवारले प्रदान गर्दै आएको शिरोमणि पुरस्कार २०७२ बाट मूर्तिकार ओम खत्री सम्मानित भएका छन् । साहित्य, कला र संगीतको उत्थानः हाम्रो प्रण उद्घोषका साथ २०३४ सालमा स्थापित परिवारले नगद १५ हजारसहित ताम्रपत्र, दोसल्ला र दुबोको माला लगाएर सम्मान गरेको हो । वरिष्ठ कलाकार दुर्गा बराल, प्रतिभा चयन समितिका संयोजक कवि तीर्थ श्रेष्ठ, परिवारका अध्यक्ष सुरेश रानाभाटले खत्रीलाई सम्मान गरेका थिए । यसअघि ११ श्रष्टाहरु सम्मानित भईसकेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कलाकार दुर्गा बरालले ललितकलाको मूर्तिकला विधा अरु कलाभन्दा लामो समयसम्म टिक्ने भएकाले पनि यसको रचनाविधान जटिल भएको बताए । ‘चित्रकला स्थायी रुपमा रहन सक्दैन, जोगाएर राख्न गाह्रो छ’– उनले भने– मुर्तिकला हजारौं हजार वर्षसम्म रहन्छन् ।’ बरालले मुर्तिकला तजथा यसको संरक्षणमा पोखरेली उदासिन देखिएकोमा चिन्ता व्यक्त गर्दै मुर्तिहरु घाँसले घेरिएर झाडीमा लुन्े अवस्था आउनु दुःखद रहेको बताए । खत्रीकै पहलमा पोखराको कोमागाने पार्कमा बनाइएका मूर्तिकलालाई राज्यले समयमै संरक्षण गर्न पनि उनले आग्रह गरे ।
प्रतिभा चयन समितिकाका संयोजक कवि तीर्थ श्रेष्ठले मूर्तिकार ओम खत्रीको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै बाग्लुङमा जन्मेर काठमाडौ,ं दिल्ली हुँदै अन्तर्राष्ट्रिय तहमा नेपाली मूर्तिकलालाई स्थापित गराएकोमा सरहाना गरे । जापानको नोयोगा शहरको केन्द्रमा रहेको २४ फिट अग्लो मूर्ति खत्रीले २ महिनामा बनाइ आफ्नो प्रतिभाको आलोक विश्वस्तरमा पुया¥उनुले नै उनको परिचय बनेको बताए ।
पुरस्कार अर्पण तथा सम्मान समारोहमा कलाकार बुद्धि गुरुङले भारतमा सैद्धान्तिक ज्ञान लिएर खत्रीले नेपालमा मुर्तिकला क्षेत्रमा नयाँ आयाम थपेको बताए । सिर्जनशील कलाकार समूहका अध्यक्ष विश्वराज पराजुलीले कुन पात्रले पुरस्कार प्राप्त गर्छ पुरस्कारको गरिमा त्यसमा भर पर्ने बताँउँदै खत्री पुरस्कृत भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका परिवारका अध्यक्ष सुरेश रानाभाटले दिल्ली युनिभर्सिटीमा मास्टर अफ आर्टस्मा अल ईण्डिया टपर खत्रीले नेपालमा कला जगतमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको बताए । कार्यक्रममा उपाध्यक्ष दीपक समीपले स्वागत र सचिव अर्जुन अधिकारीले सञ्चालन गरेका थिए ।
राष्ट्रकवि माधव घिमिरेको गीति नाटक मालती मंगले पोखरामा प्रदर्शन गरेर उठेको रकमबाट अक्षयकोष स्थापना गरी ४० को दशकदेखि संस्थाले शिरोमणि पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि वाङमयिक क्षेत्रमा क्रियाशील स्रष्टा मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरुभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा र अमृत गुरुङ सम्मानित भइसकेका छन् ।
नेपाली ललितकलाको मूर्तिकलालाई विश्वस्तरसम्म फैलाउने खत्रीलाई प्रतिभाका रुपमा छनौट गर्न वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष सुरेश रानाभाट र सचिव अर्जुन अधिकारीको समिति गठन गरिएको थियो ।
क्यानडामा गठन भई इटलीमा प्रधान कार्यालयको अन्तर्राष्ट्रिय मूर्तिकारहरुको संस्था ए.आइ.इ.एस.एमका खत्री प्रबन्धक समेत रहेका छन् । गल्कोट हटिया ४ बाग्लुङमा जन्मेका खत्रीले मूर्तिकलामा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक र दिल्ली विश्वविद्यालयबाट भारतबाट प्रथम श्रेणीमा प्रथम भइ स्नातकोत्तर तहसम्मको औपचारिक कला शिक्षा लिएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व मूर्तिकला विभाग प्रमुख, त्रिभुवन विश्वविद्यालय मूर्तिकला विभागका विषय समति सदस्य समकालीन नेपाली मूर्तिकला संघ आरम्भका अध्यक्ष खत्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौ पटक कला प्रदर्शनी गरेका छन् भने ३५ औं राष्ट्रिय कला प्रदर्शनी २०६० मा प्रथम, अरनीको युवा कला पुरस्कार स्वर्ण पदक सहित र दिल्ली विश्वविद्यालय भारतबाट मूर्तिकलामा सवोकृष्ट पदकबाट सम्मानित भइसकेका छन् ।
