
रञ्जन अधिकारी पोखरा, ६ मंसीर / ‘ग्याँस बाँड्छ भनेको सुनेर राति नौ बजे नै आएको, लाईन त पृथ्वीचोक कटिसकेछ ।’ नयाँबजारकी रोशनी अधिकारीले भनिन्– ‘बाँड्ने दिन हामीलाई पो थाहा हुँदैन, अरुलाई त थाहा हुँदो रैछ ।’ गृहलक्ष्मी कम्पनीको ग्याँस वितरण गर्ने स्थान सुरेन्द्र ट्रेडर्स, पृथ्वीचोकमा शनिबार राति ११ बजेतिर नै एक हजार बढि लाईनमा बसिसकेका थिए । तर ट्रेडर्सबाट आईतबार आधा परिमाणको दुई सय सात सिलिण्डर मात्रै वितरण गर्ने निर्णय भएको थियो ।
अधिकारीले हल्लाकै भरमा पटक पटक ग्याँसको लाईन बसेको तर कहिल्यै नपाएको बताईन् । ‘एउटै घरकाले घटीमा दुई र होटल चलाउनेले त सात आठवटा ग्याँस समेत राखेको पाईयो ।’ उनले थपिन्– ‘लाईनको अगाडि पसले, पहुँचवालाहरुले ओगट्छन् । एउटैले दर्जन ग्याँस लगेपछि हामी जस्ताले के पाउने ?’
गत कार्तिक १८ गते नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा गृहलक्ष्मी कम्पनीको पाँच हजार सिलिण्डर ग्याँस बाँडिएपछि पोखरामा दोस्रो पटक आईतबार बाँडिएको हो । अघिल्लो पटक पनि प्रशासनले बेलैमा सुचना जारी नगरेपनि चाईनापुलसम्मै हजारौं लाईनमा बसेका थिए । भोलिपल्टदेखि पाँच दिनसम्म ग्याँस नपाउने उपभोक्ताहरु बसे तर रित्तो हात फर्कन बाध्य भए । गत बुधबार फेरि शक्ति ग्याँस बाँडिने हल्लाका बीच तीन दिनसम्म लाईन लागे र शनिबार मात्रै उठे । फेरि प्रदर्शनी केन्द्रमा आईतबार बिहानैदेखि लाईन लाग्न सुरु भएको छ ।
यसअघि, पोखरा प्रर्दशनी केन्द्रबाट ग्याँस वितरण भएपनि सो क्षेत्रबाट ग्याँस वितरण नहुने एल.पी. ग्याँस विक्रेता संघले जनाएको छ । तर प्रशासनले ढिलो गरी सुचना जारी गर्ने र बाँड्ने दिन सुचनाको पहुँच भएकाहरु पहिल्यै लाईनमा बसेर ग्याँस पाउने अवस्था आएपछि उपभोक्ताहरु हल्लाको भरमा पटक पटक प्रदर्शनी केन्द्रलाई लाईनले घेरेर रात काट्ने गरेका छन् । एक घर एक व्यक्तिलाई दिने रणनीति समेत बनाएको छैन । ‘नागरिकता वा केहि व्यवस्था गर्नुपर्ने हो । प्रशासन निकम्मा छ ।’ नयाँबजारकै गोकुल कडेँलले भने– ‘मान्छेहरु रहरले चिसोमा पाँच दिनसम्म रात कटाएका छैनन् । एउटा मापदण्ड बनाउन कास्की प्रशासन किन सक्दैन ? सबै पहुँचवालाले मात्र पाएका छन् ।’ लाईनमा बसेकालाई बाँड्नुपर्नेमा पहुँचवालाले त्यो भाग पनि खोसेकोमा उनको दुःखेसो छ । डिपो डिलर भन्दा प्रदर्शनी केन्द्रमै एकैपटक बाँड्न उत्तम हुने उनको सुझाव छ ।
पोखरामा आईतबार शक्ति र गृह लक्ष्मीको करीब ८ हजार खाना पकाउने एल.पी. ग्याँस वितरण भयो । ग्याँस वितरण सम्बन्धमा प्रशासनले शनिबार राति १० बजेपछि मात्रै मिडियाको ईमेलमा सुचना पठायो । उपभोक्ता सुचनाको अधिकारबाट वञ्चित भए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाका अनुसार आईतबार विहान पौने ६ बजेमात्रै सुचना जारी गर्ने निर्णय भएको थियो तर अघिल्लो दिन साँझ देखि नै तोकिएको डिलरहरुमा लाईन बस्न सुरु भईसकेको थियो । उनका अनुसार मंसीर सात अघि ग्याँस नबाँड्ने निर्णय विपरित प्रशासनले एक दिन अघि नै ग्याँस वितरण ग¥यो । शक्तिको चार हजार चार सय १४ र गृह लक्ष्मीको तीन हजार पाँच सय वटा आधा ग्याँस सिलिण्डर पोखरा क्षेत्रमा रहेका ग्याँसका डिलरबाट मात्र वितरण भएको हो । सयौं सर्वसाधारण रित्तो सिलिण्डर घिसार्दै लाईनमै छन् ।
तर, उपभोक्ताहरु प्रशासनकै आदेशमा आफुखुशी ग्याँस छुट्टाएकोमा आक्रोशित छन् । शनिबार बेलुका चार सय ५० थान शक्ति ग्याँस डिपोबाटै गायब बनाएकोबारे समाचार फैलिएपछि चौतर्फी आलोचना हुँदा समेत आइतबार चार सय थान शक्ति र तीन सय गृहलक्ष्मी ग्याँस आक्रोशित भिडको नाममा फेरि आफुखुशी वितरण गरिएकोमा कास्की प्रशासन प्रति उपभोक्ता रुष्ट छन् ।
वितरण गरिएको आधा सिलिण्डर भनिएको ७.१ केजी तौलको ग्याँस पनि कुनै निकायबाट प्रमाणित नगरिएकोले यसमा पनि सर्वसाधारणले सिल नै टाँस्नुपर्ने माग गरेका छन् । प्रशासनमात्रै होईन, उपभोक्ता समेत यो संवेदनशील घडीमा उत्तिकै जिम्मेवार बन्न आवश्यक छ । एकै व्यवसायीले दर्जन सिलिण्डर लगेर अगाडि लाईनमा राख्दा दुई सय कोटामा अन्य थोरै मात्र लाभान्वित हुने अवस्था आउनेतर्फ सोच्न जरुरी छ । भारतले नेपाल माथि दुई महिना देखि गरेको नाकावन्दीको कारण मुलुक नै संकटमा परेको बेला मै खाउँ, मै लाउँ भन्ने सोच त्यागेर सबै मिलेर राष्ट्रियताको यो लडाईंमा उभिनुपर्ने बेला आएको छ । कालाबजारीयालाई समाजमा नङग््याउँ, पहुँचका भरमा ईन्धन र ग्याँस कुम्ल्याएर तडकभडक शैली देखाउनेलाई खबरदारी गरौं । प्रशासनलाई जिम्मेवार बन्न दबाब दिऔं ।
