
रञ्जन अधिकारी पोखरा, २७ मंसीर / बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७२ बाट सञ्चारकर्मी रविराज बसौला पुरस्कृत भएका छन् । फाउण्डेशनले आफ्नो आठौं वार्षिक साधारणसभाका अवसरमा पोखरामा आईतबार पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले बसौलालाई १५ हजार एक नगद सहित प्रशंसापत्र र दोसल्लाले सम्मान गरेको हो ।
बाल अधिकार तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि गण्डकी सञ्चार गृह र कान्तिपुर दैनिकका लालप्रसाद शर्मा पुरस्कृत भईसकेका छन् ।
पुरस्कार ग्रहणपछि बोल्दै बसौलाले पत्रकारिता मार्फत बालबालिकाका क्षेत्रमा क्रियाशी रहँदा आज यसरी पुरस्कृत हुन पाउँदा हर्षित भएको भन्दै जिम्मेवारी थप भएको बताए । पुरस्कार छनौट समिति संयोजक समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र प्रसाद भट्टले पुरस्कृत व्यक्तित्व बसौलाका बारेमा जानकारी गराएका थिए ।
प्रमुख अतिथि पोउमनपा कार्यालय अधिकृत अधिकारीले सन् २०१८ सम्ममा पोखरालाई बालमैत्री शहर स्थापना गर्ने आफ्नो योजनालाई मुर्त रुप दिन फाउण्डेशन जस्ता संस्थाको सहकार्य महत्वपूर्ण रहेको बताए । उनले साझेदार संस्थासँगको अर्थपूर्ण र उपलब्धीमुलक सहकार्यले नै सफल भईंने भन्दै नगरपालिका यसमा दृढ रहेको सुनाए । पोखरा उपमहानगरपालिकाको क्षमता गिर्दै गएको गुनासोबाट मुक्त हुन सबैको साथ, सहयोग र सहकार्यको आफु सधैं अपेक्षा गर्ने उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई आजको पोखरा बनाउन पोखरा बाहिरदेखि यहाँ आएर कर्मशील बनेका व्यक्तित्वहरुको हात रहेको बताए । उनले फाउण्डेशनले पढ्नबाट वञ्चित बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गर्दै प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए ।
पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मिनराज काफ्लेले नेपालीहरुको देखासिकी गर्ने बानी भएकाले बाबा फाउण्डेशनले गरेको जस्तो राम्रो कामहरुको पनि देखासिकी भए समाजका लागि हितकारी हुने बताए ।
छनौट समितिका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बसौला पुरस्कारका लागि उपयुक्त भएको बताए ।
फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टंक अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित पुरस्कार उनको बार्षिक पुण्यतिथि सन्दर्भ पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । साधारणसभामा सचिव टंक अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
