पोखराबाट उपेन्द्र यादवले भने– ‘आन्दोलनमा सरकारको समर्थन छ’

410
0
Share:

रञ्जन अधिकारी पोखरा, २८ मंसीर / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चर्केको आन्दोलनलाई सरकारले लम्ब्याउन चाहेको टिप्पणी गरेका छन् । सरकारले नै आन्दोलन टुंगाउन नचाहेको आरोप लगाउँदै उनले कालाबजारी मौंलाउँदा तलदेखि बालुवाटारसम्मलाई फाईदा पुगेको जिकिर गरे ।

तमुवान–मगरात संयुक्त संघर्ष समितिले पोखरामा सोमबार आयोजना गरेको विशाल जनसभामा बोल्दै फोरमका अध्यक्ष यादवले यो आन्दोलन शाषकवर्गलाई कमाउने राम्रो माध्यम बनेको उल्लेख गरेका हुन् । ‘हाम्रो आन्दोलनमा सरकारको समर्थन छ ।’ यादवले भने– ‘आन्दोलनकै कारण सबैलाई फाईदा भएको छ ।’ नाकाबन्दीबारे धेरै नबोलेका उनले सरकारले नै कालाबजारीलाई सघाएको कारण नाकाबन्दीको प्रभाव परेको बताए । ‘वीरगञ्ज बाहेक सबै नाका खुलिरहेको छ । सयौं ट्यांकर तेल, ग्याँस बुलेट आएका छन् भनेर टिभीमा भिडियो देखिन्छ ।’ यादवको जिकिर छ– ‘तर, त्यो जनताले किन पाएन त ? यो सबै कालाबजारीयालाई बेचेर कमिशन खाएको हो ।’

उनले सरकारले वार्ता गर्ने भनेर केहि पनि प्रस्ताव नल्याउने गरेको भन्दै यसरी समस्या नटुंगिने बताए । आदिवासी जनजाति, मधेशी, दलित समुदायको हितमा नरहेको नयाँ संविधान कुनै हालतमा मान्न नसकिने उनको भनाई छ । केहि दलका केहि नेताले जारी गरेको संविधान कति दिन चल्छ नेपालमा ? भन्दै यादवले प्रश्न पनि गरे । सीमांकनमा चित्त नबुझेकै कारण आन्दोलनमा होमिएको भन्दै उनले यो आन्दोलन अधिकारको लडाईं भएको बताए ।

यादवले ११ बुँदे मागको सम्बोधन नभई संघर्ष नरोकिने प्रष्ट पारे । ‘सदन, सडक सबै बन्द गर्दा समेत सुनुवाई भएन, नेपाल बन्द गर्दा पनि भएन’ उनले थपे– ‘त्यसपछि बाध्य भएर नाकामा बस्नुपरेको हो ।’ तर सरकारले अत्यधिक बल प्रयोग गरी ५६ जना निर्दोष नागरिकको हत्या गरेको उनले आरोप लगाए । १० हजार बढि घाईते भएको, पाँच सय बढि पूर्ण अपांग भएको भन्दै उनले नेपाल सरकारले मधेशीलाई नागरिक नै नसम्झिने गरेकाले यो अवस्था आएको जिकिर गरे । जातीय नरसंहार गरी दबाउने कार्य गरेकाले खेदिँदै दशगजा पुग्नुपरेको बताए ।

‘यताबाट धकेल्दै हामीलाई दशगजा पु¥याए । हामीलाई फेरि अर्को पीडा थपियो’ – यादवले भने– ‘उताका प्रहरीले फेरि डण्डा हान्दै यता धकेल्छन् । धन्न बीचमा पुल छ । यो हालतको सामना हामीले गर्नु परिरहेको छ ।’ उनले आदिवासी जनजातिलाई अधिकार दिए युरोपियन युनियन छिर्ने अनि क्रिश्चियन मुलुक बनाईदिने, मधेशीलाई अधिकार दिए भारतलाई बुझाईदिने शाषक वर्गको सोच रहेको भन्दै मधेशको संघर्षलाई बद्नाम गराउन भारतलाई जोडेको बताए ।

संविधान परिमार्जन गरी सबैको अधिकार, पहिचान र प्रतिनिधित्वलाई संवोधन गर्ने संविधान बनाउनुपर्ने जिकिर गरे । ‘खस आर्यका पनि केहि मुठीभरले बनाएको संविधान हो । त्यसैले त हामीले जलायौं’ यादवले भने– ‘यो सबैको अधिकारको लडाईं हो । यो भन्दा ठुलो राष्ट्रवाद के हुन सक्छ ?’ उनले एउटै जाति खस आर्यको मात्र प्रभुत्व हुने गरी यो प्रदेश आएको भन्दै यसरी संघीयतामा जान जरुरी नै नभएको बताए ।

उनले सच्चा राष्ट्रवादी मधेशी, आदिवासी नै भएको जिकिर गर्दै अहिलेसम्म मुलुकका लागि भएका राष्ट्रघात बाहुन क्षेत्री शासकहरुले नै गरेको आरोप लगाए । ‘कोशी, महाकाली बेच्नेहरु मधेशी होईन, दलित होईनन् जनजाति होईनन् । उनले भने– ‘अहिले उनीहरु सच्चा राष्ट्रवादी बनेका छन् । तर आन्तरिक मामलामा हस्तक्षप गर्न आमन्त्रण गर्ने नै उनीहरु हो ।’ उनले परराष्ट्रमन्त्री कमल थापाले भारतलाई बुझाएको पत्रबारे असन्तुष्टि पोख्दै मधेशी नेताहरु भारत गएर आन्तरिक मामला आफैले मिलाउने जानकारी गराएको जिकिर समेत गरे ।

उनले अहिलेका राष्ट्रवादीहरु भारतमा गएर भारतीयकै छोरा नाति भएको भन्दै भाषण ठोक्नेहरु रहेको भन्दै अहिलेका राष्ट्रपति भारतकै आर्शिवादमा भएको ठोकुवा गर्न भ्याए । सारा मिडियाहरु खसआर्यवादीकै हातमा रहेको र भारतको पनि कुदृष्टि आफुहरुले पाएको भन्दै आफुहरुको आन्दोलन छायाँमा परेको बताए ।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा. डा. ओम गुरुङले जारी गरिएको संविधान कहिँकतैबाट पनि आदिवासीवासी जनजातिको हितमा नरहेको दाबी गर्दै जारी आन्दोलन अधिकार स्थापित नभएसम्म नसकिने बताए । उनले आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

खसान संघर्ष समितिका संयोजक प्रेम खातीले आफुहरु आदिवासी खस भएको उल्लेख गर्दै आदिवासी जनजातिको आन्दोलनमा पूर्ण समर्थन रहेको बताए । कार्यक्रममा थरुहट आन्दोलनका तर्फबाट भानुराम थारु, लिम्बुवानबाट कुमार लिङ्देन, नयाँ शक्ति अभियानका तमुवान ईञ्चार्ज देवेन्द्र पराजुली, शेर्पाहरुका तर्फबाट पासाङ शेर्पा, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर, तमुवान मगरात संयुक्त संघर्ष समिति राजनीतिक संयन्त्र सदस्य गणेशमान गुरुङले बोलेका थिए ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले चीन र भारतसँग नेपालको समदुरीमा सम्बन्ध आवश्यकता औंल्याउँदै नेपाली भुमि कोहि विरुद्ध प्रयोग हुन नहुने र यहाँका मधेशी, आदिवासी जनजातिको आन्दोलनलाई कुप्रचार नगर्न पनि आग्रह गरिन् । उनले आदिवासी जनजातिको माग पनि प्याकेजमा नै समेट्न माग गरिन् । तमु धिं नेपाल कुनै पनि दलको छातामुनी नभएको उनले प्रष्ट पारिन् ।

कार्यक्रमको अध्यक्षता समेत गरेका तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले आदिवासी जनजातिको आन्दोलन माग पुरा नभएसम्म जारी रहने भन्दै आन्दोलनमा एकताबद्ध हुन सबैलाई आग्रह गरे ।

आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष समेत रहेका गुरुङले मिडियाहरु शक्ति र सत्ताको पछि दगुर्दा आफ्नो मर्म विर्सेको आरोप लगाए । ‘मिडिया र मानवअधिकारकर्मीहरु अफवाह फैलाउँदै हिँडेका छन् ।’ उनले थपे– ‘यदि मर्म र धर्म विर्सेर हिँड्ने हो भने मिडिया हाउस, मानवअधिकारकर्मीहरु पनि कारबाहीमा पर्छन् । आवाजविहीनको आवाज भन्ने अनि अफवाह फैलाउने छुट छैन ।’

कार्यक्रममा स्वागत तमुवान संयुक्त संघर्ष समितिका सचिव गजेन्द्र लिम्बुले गरेका थिए भने संचालन मगरात संयुक्त संघर्ष समितिका बसन्त घर्तीमगरले गरेका थिए । सभाअघि तमु, मगर लगायतका जातिय संघसंस्थाले सभागृहचोकदेखि बाजागाजा, नारा सहित सभास्थल मानवअधिकारचोक चिप्लेढुंगासम्म ¥याली गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: