
रञ्जन अधिकारी पोखरा, १ पुस । शुल्क विवादका कारण बन्द भएको प्याराग्लाईडिङ उडान बुधबारदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) बीच उत्पन्न विवाद चाँडै नै समाधान गर्ने समझदारी बनेपछि पूर्ववत् रुपमा प्याराग्लाईडिङ उडान खुलेको हो ।
आईतबार उडान शुल्क नबुझाएको भन्दै क्यान पोखराले एक सय जनाभन्दा बढि पाईलटलाई सराङकोटबाट फर्काईदिएपछि तीन दिनदेखि प्याराग्लाईडिङ उडान प्रभावित बनेको थियो । विनियमहरु परिमार्जन गर्नुपर्ने माग सहित व्यवसायी तथा पाईलटहरु आन्दोलनमा होमिएका थिए ।
दुई पक्षबीचको वार्तामा क्यान र ना बीच शुल्क समायोजन सहित अमान्य र अस्पष्ट नीतिलाई परिमार्जन गर्ने समझदारी बनेको हो । क्यानले चाँडो भन्दा चाँडो परिमार्जित नियमावली सार्वजनिक गर्ने र मङ्सिरदेखि अब आउने नीति अनुसार अघि बढ्ने समझदारी भएको नाका अध्यक्ष योगेशबहादुर भट्टराईले जानकारी दिए । ‘क्यानले अब नियमावली ल्याउनेछ । त्यसमा हाम्रो माग सम्बोधन हुनेमा विश्वस्त पारियो’ भट्टराईले भने– ‘हामीले पनि यो बीचमा प्याराग्लाईडिङ उडानलाई निरन्तरता दिने भयौं ।’ उनले आफुहरु सहमत हुन नसकेको नीति सम्बन्धमा कुनै ठोस सहमति नभएको खुलाए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले प्याराग्लाईडिङकै लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेको र यसले पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पर्ने भएकाले अहिले व्यवसायीले पनि पूर्ववत् रुपमा सेवा दिने, क्यानले पनि विनियमावली सुधार गर्दै जाने गरी अघि बढेको बताए ।
पोखराको आकाशमा प्याराग्लाईडिङ उडाउने नेपाली पाईलटहरु एक सय सात जना छन् । विदेशी पाईलटहरु ५० को हाराहारीमा छन् । एउटा प्यारापाईलटले मासिक रुपमा उडान अनुमति शुल्क स्वरुप क्यानलाई प्रतिमहिना नौ हजार ४० रुपैयाँ बुझाउँदै आएका थिए । कार्तिकसम्म शुल्क बुझाउँदै आएका पाईलटहरुले मङ्सिरदेखि भने विदेशी पाईलट जस्तो गरी पटके शुल्क नतिर्ने भन्दै शुल्क बुझाएका छैनन् । क्यान पोखरा कार्यालयले भने केहि पाईलटहरुले शुल्क बुझाएको जनाएको छ ।
