
विग न्यूज
काठमाण्डौ, ७ पुस | ‘ब्ल्याङ्केट फर ह्यूम्यानिटी’ अभियान अन्तरगत काठमाण्डौ थापाथलीस्थित ‘द ब्रिटिश कलेज’का बिद्यार्थीहरुले काभे्रका भूकम्प पीडित वृद्धवृद्धाहरुलाई ६५ थान कम्बल, लत्ता कपडा र औषधी बितरण गरेका छन् । सोमबार काभ्रेको रयाले पुगेर उनीहरुले वृद्धवृद्धालाई ती सामाग्रीहरु वितरण गरेका हुन् ।
विद्यार्थीहरुले काठमाडौं, भक्तपुर र पाटनका विभिन्न ठाउँबाट संकलन गरेको रकमबाट अभियान थालेका थिए । आर्थिक संकलनका लागि उनीहरुलाई ‘एसपिआई रिक्रिएशन’ टिमले समेत सहयोग गरेको थियो ।
ब्रिटिश कलेजका अपरेशन डाइरेक्टर विमल पाठक, मार्केटिङ म्यानेजर सुमन श्रेष्ठ, भरत सापकोटा लगायतको उपस्थितिमा कलेजका १५ विद्यार्थीहरुले रयालेका भूकम्प पीडित बृद्धबृद्धालाई सहयोग गरेका हुन् ।
स्थानीय बालचन्द्र माध्यमिक विद्यालय रयालेको प्रांगणमा सोमबार एक कार्यक्रमका बीच उनीहरुले ती सामाग्रीहरु वितरण गरेका हुन् । सहयोग बितरणको क्रममा बोल्दै ब्रिटिश कलेजका अपरेशन डाइरेक्टर विमल पाठकले यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय बालचन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक तुलसी श्रेष्ठले सहयोग गरेका थिए । उनले विद्यार्थीहरुले सुरु गरेको यो अभियानले देशभरी सकारात्मक सन्देश प्रभाव गर्ने आशा व्यक्त गरे ।

