
पोखरा,पुस १०,अमृत सुबेदी,
आज पुस १० शुक्रबार अर्थात कवि भूपी शेरचनको ८० औं जन्म जयन्ती । देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । पोखरामा आज उनको सम्झनामा थकाली सेवा समितिले विशेष कवि गोष्ठी गर्दैछौं । कवि शेरचनको जन्म वि सं १९९२ साल पुस १० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । ‘भूपी शेरचनको सम्मानमा विशेष कवि गोष्ठीको आयोजना गरेका हौं’, गोष्ठीका संयोजक मिलन शेरचनले भनिन्, ‘गोष्ठीमा झण्डै २० जना कविले कविता वाचन गर्नेछन् ।’
कवि भूपी शेरचन यो युगका कवि भएकाले उनको सम्मान र नयाँ पुस्तामा उनको बारेमा जानकारी गराउने खालका कार्यक्रम आवश्यक रहेको कवि तथा परिवारका सल्लाहकार तीर्थ श्रेष्ठले बताए । गोष्ठीमा कवि शेरचनका विषयमा संचारकर्मी प्रकास सायमीले बोल्दैछन् । विशेष शेरचनलाई नजिकबाट चिनेका व्यक्तिहरु पनि उपस्थित भएर उनका सृजनाकर्मका विषयमा जानकारी दिने कार्यक्रम पनि रहेको थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनले जानकारी दिए । यसअघि पोखरामै उनको सम्झनामा गत चार गते शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले पनि विशेष कवि गोष्ठीको आयोजना गरेको थियो ।
उनको नाम भूपेन्द्रमान शेरचन भएपनि नेपाली साहित्य आकाशमा भूपि शेरचनका नामले परिचित छन् । कवि भूपी शेरचनले नयाँ धारको कविताको शैलीलाई विकास गरेका थिए । उनले हिँडेको कविताको बाटो नै अहिले कविता हिँडिरहेको बताइन्छ । सरल र अनुप्रासयुक्त शब्दहरुमार्फत् सामाजिक विकृतिविसंगतिमा प्रहार गर्नु र परिवर्तनको आव्हान गर्नु उनका सिर्जनाका विशेषता हुन् ।
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उनको सबैभन्दा चर्चित कृति हो । शेरचनका ‘परिवर्तन’ नाटक (२०१०) , ‘नयाँ झयाउरे’ गीतिकविता संग्रह (२०१०), ‘निर्झर’ (कविता संग्रह (२०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ कवितासंग्रह (२०२५), र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको सम्पादनमा ‘भूपि शेरचनका कविताहरू’ –कवितासङ्ग्रह (२०५७) कृति प्रकाशन भएका छन् कवि शेरचनका नयाँ झ्याउरे , निर्झर र घुम्नेमेचमा अन्धोमान्छे कविता संग्रह प्रकाशीत छन । भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कृति साझा पुरस्कार पाउने पहिलो कृति हो ।
