पोखरामा प्र ल्होसार सुरु

Share:

पोखरा, १० पुस-
महान पर्व प्र ल्होसार तमू प्ये ल्हु संघ पोखरामा आजबाट सुरु भएको छ ।
तमू प्ये ल्हु संघ प्र ल्होसार मूल आयोजक समितिले पोखरामा आजदेखि प्र ल्होसार मनाउन लागेको हो । तमूहरुले यस वर्ष ल्हु ल्हो अर्थात् भेडा वर्गको विदाई र प्र ल्हो अर्थात वादर वर्गको स्वागत गरि प्र ल्होसार मनाउन लागेको हो ।
यसैअन्तर्गत मूल आयोजक समितिले तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिको व्यवस्थापनमा आज फलिना क्वोइवो रानीपौवामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमलाई प्रमुख अतिथि आमा समुहका अध्यक्ष पुष्पा तेल्मै तमुले पहिलो रक्तदाता संघका केन्द्रीय सदस्य इन्द्रकुमारी तमुलाई व्लड व्याग हस्तान्तरण गरि उद्घाटन गर्नूभएको थियो ।
प्र ल्होसार मूल आयोजक समितिले दिएको जानकारी अनुसार पौष १४ गते पूर्वान्ह ११ बजेदेखि शुभकामना आदानप्रदान तथा अन्तर समाज सामूहिक नृत्य प्रतियोगिता कार्यक्रम, राति १२ बजे फलिना क्होइवो परिसरमा बोन फायर गरि प्र ल्हो अर्थात वादर वर्गलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यसैगरि पौष १५ गतेको दिन विहान ६ बजेदेखि पच्य्ु खेकीहरुबाट छ्योप र ल्हौउरी खेकिहरुबाट थासो त्हेँ, पितृहरुको नाममा बक्ति बाल्ने र खेकी गुरुहरुबाट क्होइवो परिसरमा रुपा लगाउने कार्यक्रम हुने भएको छ । साथै पूर्वान्ह ११ बजेदेखि स्योकैसंगै आठौँ खुल्ला तमू सामुहिक नृत्य प्रतियोगिता हुने भएको छ ।
तमू समूदायमा १२ वटा पशुपन्छीहरुलाई आधार मानी हरेक १२ वर्ष चक्रिय रुपमा पालैपालो वर्गहरु फेर्ने भएकोले छार नभई सार भन्ने गर्दछ । सोहि अनुरुप तमूहरुले यस वर्ष ल्हु अर्थात भेडा वर्गलाई विदाई गरि प्र ल्हो अर्थात वादर वर्गलाई स्वागत गरि प्र ल्होसार मनाउने भएको छ । साथै तमूहरुले यस १२ ल्होलाई आधार मानी उमेर गणना गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: