
विराटनगर, ११ पुस-
दशगजा क्षेत्रमा बसेर अवरोध गर्न खोजेपछि विराटनगरको रानी भन्सार क्षेत्र तनावग्रस्त बनेको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भारततर्फबाट आएका मधेसी मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिन थालेपछि प्रहरीले घेरा हालेर महतो लगायतका नेताहरुलाई पक्राउ गर्न खोजेको थियो ।
प्रहरीले हस्तक्षेप गरेपछि मधेसी मोर्चाका कार्यकर्ताले दशगजा छेउको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मोर्चाका कार्यकर्ताले भारततर्फबाट ढुंगा हानेका छन् । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि महतोसहितका मोर्चाका अन्य नेताहरु भारततर्फ गएका छन् ।
यसैबीच, रानी भन्सार नाकामा प्रहरीसँग भएको झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन् । प्रहरीले महतोसहितका धर्नाकारीलाई हटाउने क्रममा झडप हुँदा उनी घाईते भएका हुन् । महतोको टाउकोमा चोट लागेको छ ।
