
बुटवल, १७ पुस-
नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसी मोर्चाले मधेसमा जातीय भावना फैलाएर आन्दोलन गरिरहेको बताएका छन् ।
उनले मधेसी मोर्चाको त्यो प्रयास कुनै पनि अवस्थामा सफल नहुने बताए ।
नेकपा (एमाले) लुम्बिनी अञ्चलस्तरीय कार्यकर्ता भेलाको आज बुटवलमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मधेसमा भइरहेको आन्दोलनले मधेसी जनता नै सबैभन्दा पीडित भएकाले एमाले अब मधेसी जनतालाई सचेत बनाउन गाउँ गाउँ जाने बताए ।
उनले मधेसमा गएर संविधानले मधेसी जनतालाई दिएको अधिकारका विषयमा बुझाउने काममा केही ढिलाइ भएको बताउँदै नेपाललाई विभाजन गराउने खेलमा एउटा शक्ति लागेकाले सरकारलगायत आमनेपाली गम्भीर हुनुपर्ने अवस्था आएको बताए ।
उनले मधेसलाई नेपालको भू–भाग नै होइन कि भन्ने तरिकाले अलग्गै बनाउनुपर्छ भन्ने मनसाय राख्ने शक्तिले नेपाललाई बिखण्डित बनाउने प्रयास गरिरहेको र त्यो शक्तिविरुद्ध सिङ्गो नेपाललाई बिखण्डित बनाउने प्रयास नेपाली एकता आवश्यक रहेको बताए ।
नेता नेपालले नेपालमा जातीय विभेदको भावना सुरुमा एमाओवादीले नै बिजारोपण गरेको र अहिले त्यसको नतिजा प्राप्त भइरहेको उल्लेख गरे ।
नेता नेपालले मधेसी पहाडी जनताका बीचमा दूरी बढाएर राजनीति गर्नेलाई अब नेपाली जनताले चिनिसकेको र उनीहरुको प्रयास सफल नहुने मधेसका जनताले नै जवाफ दिइसकेको बताए ।
