
काठमाडौँ, २० पुस-
व्यवस्थापिका–संसद्को आजको बैठकमा एक विधेयक सर्वसम्मतिले पारित गर्नुका साथै अन्य तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको ‘बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०७१ र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
शिक्षामन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले प्रस्तुत गरेको ‘शिक्षा (आठाँै संशोधन) विधेयक, २०७२ सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
यसैगरी स्वास्थ्यमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री खरेलले प्रस्तुत गरेको ‘खोप विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले पारित गरेको थियो ।
यसअघि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथिको सामान्य छलफलमा सांसद डिल्लीप्रसाद काफ्लेले राख्नुभएको स्वास्थ्य संस्था निजी क्षेत्रलाई दिन नहुने भन्ने प्रस्तावमा त हुन नसकिने तर सरकारको अनुमति नलिई खोपसम्बन्धी कार्यक्रममा भाग लिन नपाउने मन्त्री खरेलले बताए ।
