
सोल, २२ पुस-
उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको समाचारले विश्वव्यापीरुपमा तरङ्ग पैदा गरेको छ ।
उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ ।
दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपतिले उक्त घटनाको कडा शब्दमा विरोध गर्नुभएको छ । उहाँले यसले एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि प्रश्न उठाउनुभएको छ ।
राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशन गरिएको विज्ञप्तिमा उत्तर कोरियाको यो आणविक होडको गल्तीलाई दक्षिण कोरिया एवम् संसारको कुनै पनि देशले स्वीकार गर्न नसक्ने बताइएको छ ।
उक्त बम परीक्षणको समाचारलाई संयुक्त राज्य अमेरिकाले भने हो नै भनेर भन्न नसकिने प्रतिक्रिया दिएको छ ।
अमेरिकी सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यसलाई उत्तर कोरियाको उत्तेजनामा आएर दिएको अभिव्यक्ति पनि हुनसक्ने जनाएको हो ।
हामीले यी हल्लाहरुलाई अहिले नै विश्वास गर्न सक्दैनौँ तर पनि यस्ता कुनै पनि किसिमको हिंसात्मक कामलाई सबैले निन्दा गर्नुपर्छ–ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकाले विश्व समुदायले निशस्त्रिकरणका लागि उत्तर कोरियालाई आग्रह गर्दागर्दै पनि बम नै परीक्षण गर्नु भनेको राष्ट्रसङ्घीय सुरक्षा परिषदको शान्तिसम्बन्धी प्रस्तावको उल्लङ्घन हो भनेको छ ।
