पोखरामा पनि सुरु भयो हेलो सरकार, निःशुल्क फोन गरेर गुनासा टिपाउन सकिने

Share:

पोखरा, ३ पुस-
सरकारले जनगुनासो व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा ल्याएको छ ।
जनताको गुनासा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारितालगायतका उद्देश्य राख्दै यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र हेलो सरकार राखिएकामा क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा यो सेवा सञ्चालनमा ल्याइएको हो ।

क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चल विकास क्षेत्रद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले हेलो सरकार कक्षको उद्घाटन गरे ।

पोखरा–७ नुवारथोक स्थायी बसोबास भएका ठाकुरप्रसाद बरालले हेलो सरकार कक्षमा गर्नुभएको उजुरीको सुनुवाइको कार्यान्वयन प्रक्रिया अघि बढाउँदै मुख्यसचिव सुवेदीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

निवेदक बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी बुलौदी र फिर्केखोलामा जथाभावी रुपमा फोहर फालेका कारण फेवातालमा प्रदूषण बढेकाले नगरपालिका कार्यालयले तत्काल उक्त खोलामा फोहर फाल्ने काममा नियन्त्रण गर्न माग गरेका थिए ।
उनको मागको प्राथमिकताका साथ सुनुवाइ गर्न पोखरा उपमहानगरपालिकालाई पठाइएको छ ।

मुख्यसचिव सुवेदीले हेलो सरकार सर्वसाधारणलाई सरकारका तर्फबाट प्रदान गरिने सेवाको प्रभावकारिताका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उनले क्षेत्रस्तरमा आउने जनताका गुनासालाई तत्काल सुनुवाइ गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन पनि दिए ।

कमेन्ट गर्नुहोस्
Share: