१४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

Share:

पोखरा, ३ माघ-
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मूख्य प्रायोजनमा यही माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन गरिने १४औँ आहा–रारा गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौैँ’ भन्ने मूलनाराका साथ आयोजना गरिन लागिएको सो प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहने क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको विजेता टोलीलाई रु पांच लाख एक हजार एक रुपैयाँ र उपविजेता टोलीलाई रु दुई लाख ५१ हजार एक रुपैयाँ दिइने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर, सर्वाधिक गोलकर्तालाई रु २५ हजार, प्रतियोगिता अवधिमा टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एकजनालाई गोला प्रथाबाट एक तोला सुनको सिक्का र एलजी टिभीसमेत दिइनेछ ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबद्वारा सञ्चालित १६ जिल्लाका गरिब, असहाय र कठिन अवस्थाका २६ जना बालकको भरणपोषण तथा शिक्षादीक्षामा खर्च गरिनेछ ।  प्रतियोगितामा रु ९९ लाख ९२ हजार आम्दानी हुने र रु ७९ लाख ६२ हजार ३०० खर्च हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: