१४ औं आहारारा गोल्डकप: आर्मीद्वारा जावलाखेल २–० ले स्तब्ध

Share:

रञ्जन अधिकारी पोखरा, ७ माघ / विभागीय टीम त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औं आहारारा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको तेस्रो प्रिक्वार्टरफाईनल खेलमा जावलाखेल युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोल गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जीतमा जितेन्द्र कार्की र दिपक गुरुङले गोल गरे । खेलको दशौं मिनेटमै आर्मीले पेनाल्टी अवसर पाउँदा अग्रता लिन सफल भएको हो । आर्मीका राजीव गुरुङलाई विपक्षी खेलाडी कालु थापाले डि एरियामा लडाएपछि प्राप्त अवसरलाई कार्कीले खेर फालेनन् । खेलको अन्तिममा थपिएको पाँच मिनेको ईन्जुरी समयमा चौथो मिनेटमा दिपक गुरुङले टोलीको अग्रता दोब्बर पारे र २–० को जीत दिलाए । उनी म्यान अफ द म्याच पनि बने । डिबक्स नजिकै रहेका उनले दोश्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको हो । दुवै टोलीले केहि अवसर पाएपनि सदुपयोग गर्न सकेनन्् । नवौं मिनेटमा आर्मीका राजीव गुरुङले टंक बस्नेतको क्रसमा गोल गोल गर्न चुके । जावलाखेलका तर्फबाट पनि ३४ औं मिनेटमा राम्रो अवसर खेर गयो । खेलको ५३ औं मिनेटमा डि–बक्स नजिकैबाट गोलकिपर बिट भएको अबस्थामा जावलाखेलका अनिल गुरुङले प्रहार गरेको बललाई गोललाईनबाटै आर्मीका दीपक गुरुङले उत्कृष्ट बचाउ गरे ।

प्रतियोगितामा आर्मीको यो आठौं सहभागिता हो । सातौं संस्करणमा पुलिससँग ५–० ले पराजित आर्मी पछिल्लो वर्ष पुलिससँगै फाईनलमा १–० ले पराजय व्यहोरेको थियो । ११ औं संस्करणमा भने आयोजक सहारासँग सेमिफाईनलमा टाईब्रेकरको शिकार बनेको थियो । जावलाखेलको भने चौथो उपस्थिति हो । २०६८ को दशौं संस्करणमा पहिलो सहभागितामै उपविजेता टोली जावलाखेल ११ औं मा सेमिफाईनलमा थ्रीस्टारसँग र १२ औंमा प्रिक्वार्टरमै संकटासँग पराजित भएको थियो । गत वर्ष जावलाखेलेको उपस्थिति रहेन । जावलाखेलमा सबै युवा खेलाडीहरु आबद्ध छन् । आर्मीका स्ट्राईकर नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु अहिले बंगबन्धु गोल्डकप खेल्न ढाकामा छन् । मुख्य दुई खेलाडी नभएपनि टिममा खासै फरक नपर्ने प्रशिक्षक मेघराज केसी बताउँछन् । आर्मीका भरत खवास, टंक बस्नेत, टेक बहादुर बुढाथोकी, जितेन्द्र कार्की लगायतका अनुभवी खेलाडी मैदानमा थिए ।

आर्मीले जीतसँगै क्वार्टरफाईनलमा थ्रीस्टार क्लबसँगको भेट पक्का गरेको छ । आर्मी र थ्रीस्टार आगामी ११ गते अन्तिम चारका लागि भिड्नेछ । प्रशिक्षक केसीले नामसँग भन्दा टीमसँग भिड्ने भएकाले थ्रीस्टारलाई हराउन उनीहरुभन्दा बढि मेहनत गर्नुपर्ने बताए । उनले लिगको समाप्तिपछि सिजनको पहिलो प्रतियोगिता भएकाले आशा गरे अनुसार खेल्न नसकेको उल्लेख गरे ।

यस्तै, जावलाखेलका प्रशिक्षक राजकुमार केसीले खेलमा पेनाल्टी नै टर्निङ प्वाईन्ट बनेको बताए । उनले राष्ट्रिय लिग नखेल्दा लामो ग्यापका कारण टीम सेट गर्न गाह्रो भएको बताए । सबै युवा खेलाडीहरु भएका कारण पनि खेलमा जम्न नसकेको उनको स्वीकारोक्ति छ । उनले रणनीति अनुसार नै खेलेपनि अवसर सदुपयोग गर्न भने चुकेको बताए ।

खेलमा आर्मीका तीन खेलाडी सामान्य घाईते भए । यद्यपी खेलमा दुई ओटा पहेंलो कार्ड मात्र वितरण भयो । खेलका रेफ्री नविन्द्र महर्जनले आर्मीका बालकृष्ण श्रेष्ठ र जावलाखेलका शौरभ मगरलाई पहेंलो कार्ड देखाए ।

प्रतियोगितामा अब प्रि–क्वार्टरका एक खेल बाँकी छ । शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ बीचको खेलसँगै अन्तिम आठ टीमको टुंगो लाग्नेछ । उद्घाटन खेलमा आयोजक सहाराले सिमराको नवजनजागृतिलाई ३–० गोलले पराजित गर्दै माघ ९ गते युनाईटेड एफसी सिक्किमसँगको भेट पक्का गरिसकेको छ भने बुधबार पाहुना टोली ईण्डियन आर्मी गोर्खा ब्रिगेड सशस्त्र प्रहरीको एपीएफ विरुद्ध २–१ गोलको जीतका साथ माघ १० गते मनाङमस्र्याङ्दीको विपक्षमा उभिइसकेको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा माघ १६ गतेसम्म हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टिमको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्
Share: