आयोजक सहारा सेमिफाईनलमा, सिक्किम २–० ले पराजित

Share:

रञ्जन अधिकारी पोखरा, ९ माघ / आयोजक टोली सहारा क्लब १४ औं आहारारा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । उद्घाटन खेलमा सिमराको नवजनजागृतिलाई हराउँदै विजयी सुरुवात गरेको सहाराले शनिबार पाहुना टोली युनाईटेड सिक्किम एफसीलाई पराजित गरेको हो ।

घरेलु मैदानमा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा सिक्किम विरुद्ध २–० गोलले जीत हात पार्दै सेमिफाईनल स्थान सुरक्षित गर्ने क्रममा एल्भिस र शिव सुवेदीले गोल गरे । पहिलो खेलमा जनजागृतिलाई ३–० ले हराउँदा एल्भिसले नै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलमा ५९ औं मिनेटमा बुद्ध तामाङको क्रसमा एल्भिसले उत्कृष्ट हेड गोल गरेका हुन् । ८७ औं मिनेटमा शिव श्रेष्ठको पासमा शिव सुवेदीले अग्रता दोब्बर पार्दै टोलीलाई २–० को जीत दिलाए । गोलकर्ता शिव खेलमा म्यान अफ दि म्याच समेत घोषित भए ।

खेलको सुरुदेखि नै दुवै टीम आक्रामक रुपमा प्रस्तुत भए । यद्यपी पाएका अवसरहरु सदुपयोग गर्न भने सकेनन् । खेलाको छैटौं मिनेटमै सहाराका शिव सुवेदीले बललाई जाली चुमाएपनि रेफ्री नविन्द्र महर्जनले अफसाईड दिँदै गोलको मान्यता दिएनन् । २० औं मिनेटमा सहाराको ठुलो खड्को टर्यो । काउण्टरमा नाडोङ भुटियाको प्रहार सहाराका गोलकिपर विनय श्रेष्ठले फर्काए र सो बललाई पोष्टको दिशा दिन सुकराज सुब्बा चुके । सहाराको पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । खेलमा सहाराका विमल बस्नेतले ५७ औं मिनेट र शिव श्रेष्ठले ७९ औं मिनेटमा पहेंलो कार्ड व्यहोरे । सिक्किमका दावा लेप्चालाई ४३ औं मिनेटमा पहेंलो कार्ड देखाईएको थियो ।

१२ औं संस्करणको विजेता सहारा ११ औं संस्करणमा उपविजेता टीम हो भने त्यसबाहेक क्याराभान सहित ६ पटकसम्म सेमिफाईनलबाट बाहिरिएको थियो । पाहुना टोली सिक्किमको युनाईटेड एफसीको प्रतियोगितामा पहिलो सहभागिता हो । भारतका चर्चित खेलाडी भाइचुङ भुटियाको यो टीम सिक्किम प्रिमियर लिग खेल्ने ए डिभिजन टीम हो । गत वर्ष च्याम्पियन रहेको टोली यस वर्ष भने एसपीएलमा तेस्रो भएको थियो ।

खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै सिमराका प्रशिक्षक मिलन लेप्चा र टिम म्यानेजर अर्जुन राईले पोखरेली दर्शकले आफुहरुलाई गरेको समर्थनप्रति खुशी व्यक्त गरे । सिक्किम र नेपालबीच भाषा र संस्कृतिको हिसाबले गहिरो सम्बन्ध रहेको भन्दै उनीहरुले सिक्किम गभर्नस कममा सिक्किमेलीले सधैं नेपाली टीमलाई साथ दिने गरेको पनि स्मरण गरे । प्रशिक्षक लेप्चाले कृत्रिम घाँसे मैदानमा खेल्ने बानी परेको टीमलाई पोखरा रंगशालाको प्राकृतिक मैदान कडा भएको बताए । ईण्डियन बल खेल्ने गरेकाले बाहिरको बल खेल्दा असहज भएको उनको भनाई थियो । प्रशिक्षकको निर्णयप्रति आपत्ति जनाउँदै उनले प्रशिक्षकहरुले फिफाको नियमानुसार अपिल गर्दा समेत चेतावनी दिएको गुनासो गरे ।

विजयी टीम सहाराका प्रशिक्षक किरण श्रेष्ठले पनि शिव सुवेदीको पहिलो गोल अफसाईड नभएको जिकिर गरे । आयोजकको हिसाबले संयम भएको भन्दै उनले खेलाडीहरु दोस्रो हाफमा सुधारिएको बताए । ‘विल्कुलै नयाँ टीम भएकाले पहिलो हाफमा उनीहरुलाई बुझ्न समय लाग्यो ।’ उनले भने– ‘दोस्रो हाफमा सुधारियो । अब फाईनल प्रवेश गर्ने हेतुले नै आगामी खेल खेल्नेछौं ।’ सहाराले अब फाईनल प्रवेशका लागि रुस्लान थ्रीस्टार र त्रिभुवन आर्मीबीचको विजेतासँग माघ १३ गते पहिलो सेमिफाईनल खेल्नेछ । आईतबारको दोस्रो क्वार्टरफाईनल खेल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी र गोर्खा आर्मी ब्रिगेड टीम, भारतबीच हुनेछ ।

हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ टीमको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्
Share: