तनावका बीच मनाङको जीत, ईण्डियन आर्मी गोर्खा २–० ले पराजित, रहमतगञ्ज नआउने, सट्टामा बंगलादेशकै गजिरचाट स्पोर्टिङ क्लब 

Share:

रञ्जन अधिकारी पोखरा, १० माघ / खेल्ने नखेल्ने अन्यौलबीच मैदान उत्रिएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । तनावकाबीच मनाङले आईतबार भारतको ईण्डियन आर्मी गोर्खा ब्रिगेडलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा पछिल्ला चार खेलको नतिजा २–० रहेको छ ।

खेलाडी अभावका कारण क्लब आईतबार विहानसम्म खेल्ने नखेल्ने अलमलमा थियो । आईतबार दिउँसो तीन बजेर १० मिनेटमा ढिलो गरी सुरु खेलमा निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयतर्फ नै धकेलियो । जारी संस्करणमा पहिलो पटक खेल अतिरिक्त समयतर्फ धकेलिएको हो । मानसिक रुपमा दबाबमा रहेको मनाङले विपक्षी टीम १० खेलाडीमा सीमित रहँदा दुई गोल गरेको हो ।

मनाङका लागि अमित तामाङ र विदेशी खेलाडी ओलावालेले गोल गरे । थपिएको २० मिनेटको अतिरिक्त समयमा आठौं मिनेटमा अमित तामाङले सुरुवाती अग्रता दिलाएका हुन् । ईण्डियन आर्मीका प्रशान्त गुरुङ दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएपछि पाएको फ्रिकिक प्रहारमा उनले गोल गरे । गुरुङले ९६ औं मिनेटमा ओलावालेलाई लडाएपछि रेफ्री सुदिश पाण्डेले कार्ड दिएका थिए । यसअघि उनले ८६ औं मिनेटमा पनि पहेंलो कार्ड व्यहोरेका थिए । यस्तै, लवकुश गौतम, सुशान्त मल्लले पहेंलो कार्ड व्यहोरे । मनाङब्ँँट कुनै खेलाडीले पनि कार्ड पाएनन् ।

दोस्रो गोल अतिरिक्त समयको पहिलो हाफ १० मिनेट सकिएपछि ईन्जुरी टाईममा भयो । ओलावालेले गोल गरे । उनी लगत्तै अर्को गोल गर्न चुके । अनमार्क रहेका कप्तान अनिल गुरुङलाई पास नदिई प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । खेलको सुरुवातीतिर सातौं मिनेटमा ओलावाले दुई पटकसम्म लगातार चुके । ५९ औं मिनेटमा ओलावालेको प्रहार साईड पोलमा लागेर फर्कियो । मनाङसँगै गोर्खा ब्रिगेडका पनि राम्रा अवसरहरु सिर्जना भएका थिए ।११ औं मिनेटमा राम्रो मौका चुकेको थियो भने ८१ औं मिनेटमा मनिष तामाङको उत्कृष्ट प्रहार गोलकिपर किरण चेमजोङले मुस्किलले बचाउ गरे । चेमजोङ यसै सिजन थ्रीस्टारबाट मनाङ भित्रिएका हुन् भने मनाङका किपर विशाल श्रेष्ठ थ्रीस्टार गएका छन् ।

अब माघ १२ गते हुने झापा ११ र गजिरचाट स्पोर्टिङ क्लब बंगलादेश बीचको खेलको विजेतासँग फाईनल प्रवेशका लागि माघ १४ गते दोस्रो सेमिफाईनल खेल्नेछ । बंगलादेशकै रहमतगञ्ज एमएफ सोसाईटी प्राविधिक कारण देखाउँदै नआउने भएपछि त्यहाँकै गजिरचाट क्लब आउने भएको प्रतियोगिता संयोजक केशवबहादुर थापाले जानकारी दिएका छन् । पोखराको मैदानमा दोस्रो सफल टीम मनाङ तीन पटकको विजेता र चार पल्टको उपविजेता हो । गत संस्करणमा मनाङ फाईनलमा थ्रीस्टारसँग १–० गोलले पराजित भएको थियो । पुलिस क्याराभान सहित आहारारा गोल्डकमा सबैभन्दा धेरै पटक उपाधि जित्ने टीम हो । उसले पाँच चोटी उपाधि उचाल्दा तीन पटक उपविजेतामा चित्त बुझाएको छ ।

शनिबारको खेलमा सहाराले युनाईटेड सिक्किम एफसीलाई २–० गोलले नै पराजित गर्दै सेमिफाईनल प्रवेश गरिसकेको छ । अब सहाराले सोमबार हुने आर्मी र थ्रीस्टार बीचको विजेतासँग माघ १३ गते पहिलो सेमिफाईनल खेल्नेछ । आर्मीले पहिलो खेलमा जावलाखेललाई २–० गोलले हराएको हो भने थ्रीस्टार बाई पाउँदै सिधै क्वार्टरफाईलन खेल्न लागेको हो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले खेलाडीहरु नभएकाले जोडजाम पारेर पोखरेली दर्शकका लागि मात्र खेलेको बताए । मनाङ जहिल्यै उपाधि जित्ने योजनाका साथ आउने गरेपनि यसपटक पोखराका दर्शकलाई निराश नपार्न मात्र मैदान उत्रिएको बताउँदै खेलाडी मानसिक रुपमा तयार नरहेको र जोडजाम गरेर खेलेकाले पनि आपसी समन्वय नभएको बताए । मनाङका सात खेलाडी बंगबन्ध गोल्डकप खेलेर शनिबार मात्र काठमाण्डौं फर्किएका छन् । कप्तान विराज महर्जन, विमल घर्ती मगर, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, अनन्त तामाङ यो सिजनमा मनाङमा छन् ।

ईण्डियन आर्मी गोर्खा ब्रिगेडका टीम मेनेजर केपी राईले खेलाडीहरुबाट सन्तुष्ट रहेको जनाउँदै रेफ्रीसँग भने केहि असन्तुष्टि प्रकट गरे । एपीएफ विरुद्धको पहिलो खेलमा २–१ ले जितेको भन्दा यो खेल राम्रो भएको पनि जनाए । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ टीमको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्
Share: