
पर्वत, ११ माघ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले १३ महाधिवेशन पछिको नेतृत्व युवा पूस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
देशभरका कार्यकर्ता अब युवा नेतृत्वमा आशावादी भएको बताउँदै पार्टीलाई मजबुत बनाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताए । पर्वतको कुश्माबजारमा सोमवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अहिले आम कार्यकर्ताको भावना पनि नेतृत्व परिवर्तन गर्नुपर्ने रहेको बताउँदै अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने बताए ।
नेतृत्व लिनका लागि पार्टीभित्रका युवाले तागत देखाउनुपर्ने बताए । १२ औं महाधिवेशनमा युवा प्रयाप्त मात्रामा केन्द्रीय समितिमा पुगेपनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको स्वीकारे । पुरानालाई अनुभूत हुनेगरी सम्मान गरी नेतृत्वमा युवा आएमात्रै पार्टी बच्ने भण्डारीले धारणा राखे ।
’तागत नहुँदासम्म युवा नेतृत्वमा जान सक्दैन, लोभ र लालचले तागत आउदैन’, भण्डारीले भने । उनले पार्टीको यो महाधिवेशनलाई गाउँदेखि केन्द्रसम्म नै आन्तरिक प्रतिष्पर्धा गरी स्वच्छ बनाउनुपर्ने बताए ।
अर्को प्रसंगमा नेता भण्डारीले पार्टी समाप्त पार्ने डिजाइन शीर्ष नेतृत्वले बुझ्न नसकेको बताए । पार्टीको विचार र सिद्धान्तमाथि निरन्तर आक्रमण हुँदा समेत नेतृत्ववर्गले ध्यान दिन नसकेको उनको भनाई छ ।
