
काठमाडौं, १४ माघ–
१९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको छ ।
नेपालका लागि पहिलो विकेट सन्दिप लामिछानेले रचिन रविन्द्रलाई रन आउट बनाएका थिए । दोस्रो विकेट धमलाले लिएका थिए । उनले फिन एलेनलाई ११ रनमै आउट बनाएका हुन् । नेपालका लागि प्रेम तामाङले तेस्रो र चौंथो विकेट लिएका थिए । उनले ६० बलमा ३७ रन बनाएका जोश फिन्नी र ६८ बलमा ५२ रन बनाएका फिलिप्सलाई आउट बनाएका हुन् ।
पाचौं विकेटमा कुशल भुर्तेलले क्रिश्टियन लियोपार्डलाई रन आउट बनाएका हुन् । यस्तै छैठौं विकेटमा सन्दिप लामिछानेले ४४ बलमा १५ रन बनाएका जोश क्लाकर्शनलाई, सातौं आठौं र नवौं विकेट दिपेन्द्र सिंह ऐरीले लिए । अन्तिम विकेट आरिफ शेखले लिए ।
यसअघि नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
नेपालका कप्तान राजु रिजालले ४८, सन्दिप सुनार र आरिफ शेखले समान ३९, कुशल भुर्तेलले ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्की ६ तथा प्रेम तामाङले नटआउट चार रन बनाए ।
न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र तथा जोस फिन्नीले समान एक एक विकेट लिए ।
