
काठमाडौं, १६ माघ-
बंगलादेशमा जारी आइसीसी अन्डर नाइन्टिन बिश्वकप क्रिकेटमा आयरल्याण्डले नेपालसामु जितका लागि १ सय ३२ रनको चुनौती दिएको छ ।
फतुल्लाहको खान शाहेब रंगशालामा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओरभको खेलमा ९ विकेटको क्षतीमा १ सय ३१ रन बनायो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिक सहित कुल ५ विकेट लिएपछी आयरल्याण्डको इनिङ धरापमा परेको हो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछी सनसनीपुर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाई सकेको आयरल्याण्डले त्यसपछी सम्हालिने कोशिश गरेको थियो तर ३१ औ ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछी आइरिस इनिङ ध्वस्त भएको हो ।
नेपालकालागी दिपेन्दसिंह ऐरीले २ विकेट लिए भने सुनिल धमला, सुशील कँडेलले थप १–१ विकेट लिए ।
आज बिजयी हुन सके नेपालको क्वार्टरफाइनल प्रबेशको सम्भाबना बलियो हुने छ । समुह डि मा रहेको नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराउँदै सनसनीपुर्ण सुरुवात गरेको थियो । यही समुहको अर्को खेलमा आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।
