यू १९ विश्वकप क्रिकेटः नेपालको सपना अधुरै, बंगलादेशसँग क्वाटरफाईनलमा पराजित

Share:

काठमाडौं, माघ २२ –

नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटकाे क्वाटरफाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले दिएको २ सय १२ रनको लक्ष्य बंगलादेशले १० बल अघि नै ४ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोसले ५४ बलमा ३२ रन, जोयराज शेखले ६७ बलमा ३८ रन बनाए । जाकिर होसैनले ६५ बलमा ५५ रन, मेहदी हसन मिराजले ७७ बलमा ६९ रन बनाए । चौथो विकेटपछिको सय रनभन्दा धेरैको साझेदारीले नेपालले खेल गुमायो ।
नेपालका सुनिल धमलाले दुई र सन्दिप लामिछानेले एक विकेट लिएका थिए । अर्को विकेट सुशिल कँडेलले रन आउट गरेका हुन् ।
यसअघि नेपालले ९ विकेट गुमाएर दुई सय ११ रन बनाएको थियो । नेपालका कप्तान राजु रिजालले ८० बलमा ८ चौका र एक छक्काको मद्दतमा ७२, सुनिल धमला २५, प्रेम तामाङले नटआउट २२, दिपेन्द्र सिंह ऐरीले २२, आरिफ शेख २१, कुशल भुर्तेलले १४, राजवीर सिंह ९, सन्दिप सुनार ७ रन बनाए ।
बंगलादेशका मोहम्मद साइफुदिनले दुई तथा मेहदी हसन राना, सालेह अहमद सलोवन र मेहदी हसन मिर्जाले समान एक एक विकेट लिए । नेपालका चारजना ब्याट्सम्यान रन आउट भएका थिए । नेपाल समूह डीको उपविजेता तथा बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम ८ मा पुगेका हुन् । जितसँगै बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: