भूकम्पले सुस्तायो पस्लाङको पर्यटन व्यवसाय

Share:

तारा पौडेल

गोरखा,२८ माघ । “अर्काको देशमा गएर गुलामी बन्नुभन्दा आफ्नै गाउँमा बसेर काम गर्न मन छ ।” यो मर्मस्पर्शी भनाई हो, गोरखा, ४ पस्लाङका २५ वर्षीय युवा फत्तबहादुर राना मगरको । वैशाख १२ को महाविनाशकारी भूकम्पको कारण आफनो गाउँ शिथिल बनेपछि गाउँकै विकास गर्नका लागि सरकारले व्यवसाय गर्न केहि सहयोग गरिदिए आफ्नै गाउँमा काम गर्छु भन्ने आँट छ उनको । गाउँमा नै बंगुरपालन, कुखुरापालन, बाख्रापालन लगायतका व्यवसाय गर्न सकियो भने युवाहरुलाई अगाडी बढ्न सहयोग पुग्ने उनको विश्वास छ ।

ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व बोकेको पस्लाङ गाउँ वैशाख १२ को महाविनाशकारी भूकम्पपछि सुनसान जस्तै बनेको छ । गोरखा उद्योग वाणिज्य संघको एक गाउँ एक कार्यक्रम अन्र्तगत यहाँका १५ घरधुरीमा ६० जना पाहुँनालाई राख्न सक्ने क्षमताको होमस्टे सञ्चालनमा थियो । करिव १ वर्ष पहिलेदेखि सञ्चालन गरिएको होमस्टेमा स्वदेशी तथा विदेशी पर्यटकहरु निकै आउने गर्दथे तर अहिले भने पर्यटक आवागमन शुन्य छ ।

करिव ३० घरधुरी रहेको यस गाउँमा मगर जातिको मात्र वसोवास छ । कृषिमा आधारित यस गाउँका मानिसहरु विशेष गरी अर्गानिक खेती गरेर जीविकोपार्जन गर्ने गरेको यहाँका स्थानियको भनाई छ । अव त्यो अवस्था रहेन । तर उनीरुहमा ‘सास रहुञ्जेल आस मर्दैन’ भनेझै गाउँ र आफ्नो पेशाप्रतिको माया उस्तै छ । “भूकम्पले होमस्टे सञ्चालन रोकिए पनि यहाँको परम्परा र संस्कृति रोकिएको छैन् ।” स्थानिय फत्तबहादुर राना मगर भन्छन्-होमस्टे “पुननिर्माणमा सरकारले सहयोग गरे होमस्टेलाई अगाडी बढाउँछौं ।” मगर संस्कृतिमा आधारित पाउधुरे नाच यहाँको मुख्य आकर्षण रहेको उनको भनाई छ ।

भूकम्पपछि साना टहरा बनाएर बसेका यहाँका वासिन्दाहरुले भूकम्प गएको केहि दिन पछि अलि अलि राहात त पाए तर अझैसम्म कसैको दिगो साथ पाएका छैनन् । स्थानिय युवा मगरका अनुसार उनिहरुले राहातको नाममा सरकारले दिएको १५ हजार रुपैयाँ त पाए, तर पुननिर्माणमा पाउने भनेको २ लाख त के कुरा जाडोमा न्यानो कपडाको लागि दिने भनेको १० हजार रुपैयाँ पनि अहिलेसम्म पाएका छैनन् ।

१९९० सालको भूकम्प जादा आफू गर्भमा थिए रे भन्ने सुनेका सोहि गाउँका ९३ वर्षीय वृद्ध वेनबहादुर थापा मगरले अलि अलि राहात दिएको अनि बस्ने झुप्रो बनाईदिएको छ रे भन्ने सुनेका छन् तर कति दियो, के दियो, उनलाई केहि पत्तो छैन् । विगत ६ वर्षदेखि हिडडुल गर्न नसक्ने थापा मगर भन्छन् –”अलि अलि पैसा दिएको खानी कि लाउनी ।” वैशाखमा भूकम्प जादा जमिनै थररर हल्लिएको, आफूलाई अरुले बोकेर बारीमा लगेर राखेको अनि १५—२० दिनसम्म बाहिरको नै वास भएको उनको मनमा ताजै छ । उनले सानो तिनो भूकम्प त चाल पनि पाउनै छोडेको बताउँछन् ।

गोरखा सदरमुकामबाट ३ किलोमिटरको दुरीमा रहेको पस्लाङ गाउँमा वैशाख १२ को भूकम्पले एक गर्भवती महिला र एक वर्षीय बालक गरी २ जनाको ज्यान गएको थियो भने २ जना घाईते भएका थिए । यहाँ २७ घर पूर्ण रुपमा ध्वस्त भए भने मात्र ३ घर वचेका छन ।

कमेन्ट गर्नुहोस्
Share: