
फागुन १ गते-
शुभ कार्य र शुभ सङ्कल्प लिने दिनका रुपमा आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिँदै छ ।
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलनअनुसार यो दिन विशेष गरी सरस्वतीको मन्दिर एवम् शिक्षालयमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ ।
विद्याकी देवी सरस्वतीको पूजाका साथ मनाइने यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ ।
प्राकृतिक रुपमा बोट बिरुवामा पालुवा आउन थाल्ने, जौ र गहुँका बाली लहलहाउने, आरु, आरुबखडा जस्ता फलमा फूल लाग्ने, चारैतिर रङ्गविरङ्गका पुतली उड्ने भएका कारण पनि यस समयलाई वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा लिइन्छ ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाअर्चना गर्नुका साथै वसन्त श्रवणसमेत गरिन्छ ।
