
रञ्जन अधिकारी पोखरा, १ फागुन / ‘जब आमाले जमिन्दारको घर छाड्न जाँदाँ बाटोमा भन्नुहुन्थ्यो, छोरी उनीहरुले पिटेपनि, कुटेपनि सहनुपर्छ । गाली नखाने गरी काम गर्नुपर्छ ।’ पोखरामा शान्ता चौधरीले १८ वर्षे कमलरी जीवनको सुरुवाती क्षणलाई यसरी सम्झिईन् । शान्ताले आफ्नो संघर्षपूर्ण जीवनलाई स्मरण गरिरहँदा दायाँ तर्फ आमा नै थिईन्, जसको बचन उनले काटिन् । अनि आजको शान्ता बनिन् । १८ वर्षसम्म कमलरी बनेकी उही शान्ताको अगाडि सभासद् थपियो । मुलुकलाई कमैया कमलरी मुक्त घोषणा गर्न उनको योगदान रह्यो, भुमिहीन आन्दोलनमा उनको नाम अग्रणी स्थानमा छ ।
आठ वर्ष छँदा जमिन्दारका घरमा डोहो¥याएर लगेकी आमालाई शान्ताले बुबालाई साथ लिएर अहिले पोखरा आईन् । सबै चाँजोपाँजो मिलायो ‘स्टडी सर्कल सोसाईटी, पोखरा’ ले । सोसाईटीले दुई वर्ष अघि प्रकाशित आत्मसंस्मरण ‘शान्ता चौधरी, कमलरीदेखि सभासद्सम्म’ पुस्तक परिचर्चा कार्यक्रमका लागि उनी सहित बुबाआमालाई पोखरा आमन्त्रण गरेको हो । कार्यक्रममा सबैको अनुभूति सुनेपछि शान्ताले सुरुमै भनिहालिन् ‘मेरा बाबा र आमाबीचमा यसरी बसेर मैले माला लगाएको थिईनँ । मेरो बाबाआमाले जीन्दगीमा पहिलो पटक गलामा माला पहिरिनुभएको यो नै पहिलो पटक हो ।’ शान्ताको आँखामा आँशु छचल्कियो । यो अवसरका लागि उनले पोखरेलीलाई धन्यवाद दिईन् ।
पहिलो पटक पोखरामा पाईला टेकेका बाबुआमा उत्तिनै हर्षविभोर थिए। शान्ताका बुबा हसुलाल चौधरीले भने – ‘जमिन्दारहरुले मार्न खोज्थे । हामीलाई धम्क्याउथ्यो । मेरी छोरी ठुली मान्छे बनिन् । अहिले शान्ता चौधरी भनेर सबैले नाम लिन्छन् । हामी खुशी छौं । सबै ठाउँमा घुमाएकी छे । धेरै मन्दिरहरुमा दर्शन गराएकी छे ।’ आमाले कुन्चीदेवीले पनि पहिलो पटक माईकलाई समातेर बोल्ने प्रयास गरिन् ‘धेरै खुशी लाग्या छ । पहिले सबैले नराम्रो भन्थे । अहिले शान्ता चौधरी भनेर सबैले नाम लिन्छन् । खुशी लाग्याछ ।’
कार्यक्रम अवधिभर गहभरी आँशु लिएर बसेकी शान्ता बीचबीचमा सहभागीको कुराले हाँस्थिन् पनि । पेटभरी खान नपाउँदा बच्चाको मृत्यु भएका लगायतका घटनाले आफुलाई थाम्न गाह्रो हुने भएकाले यसतर्फ नकोट्याई अरु प्रसंगमा बोल्छु है भनेर आफ्ना कुराहरु ५० मिनेट जति नै राखिन् । दाङको लक्ष्मीपुर ४ डाँडागाउँमा जमिन्दारको जग्गामा रहेको झुपडीमा जन्मेकी शान्ता ८ वर्षदेखि नै कमलरी बनेकी थिईन् भने त्यसपछि १८ वर्ष लामो जीन्दगी अर्काको घरमा कमारो बनेरै बिताईन् । कमलरी बस्दा दुई दिनको घाँस एकैदिन काटेर अर्को दिन कमैया÷कमलरी मुक्ति आन्दोलनमा होमिएको क्षण होस् या श्रीमानलाई रक्सी खुवाएर पिट्न उक्साउँदा आफ्नो हात नै भाँच्चिएको अवस्था होस् । शान्ताले सुनाईरहिन् – २०६३ मा कमलरी जीवनको मुक्ति र लगत्तै २०६४ सालको संविधानसभा निर्वाचन पछि एमालेले समानुपातिक कोटामा बनाएको सभासद्को भुमिका, पहिलो दिन नै गणतन्त्र आएको क्षणमा अन्य सभासद्बाट भएको दुव्र्यवहार, काठमाण्डौंमा कोठा नहुँदा राति संविधानसभा बैठकपछि जाने ठाउँ नभएको अवस्था । कोठा व्यवस्थापनका लागि सभासद्लाई दिएको १५ हजार हात परेको दिन किनेको ५०० दरका दुई जोर साडी । छोराछोरीलाई जीवनमै पहिलोपटक किनिदिएको पहिलो कपडा । एक हजार नदेखेकि आमालाई दुई हजार दिँदा आमा रोएको क्षण । प्राकृतिक श्रोत र साधन समितिको सभापतिको कुसीमा बस्दा झलनाथ खनाल, गगन थापा, पृथ्वीसुब्बा गुरुङ, आरजु देउवाको बस्ने ठाउँ तल । गाडी चढ्नुपर्दाको लज्जा ।
शान्ताले पुस्तकमा उतारेको जीवनलाई प्रत्यक्ष सुनाराईरहँदा सहभागी मात्र होईन आमा समेत जोडले हाँस्थिन् । दुःखको क्षण सम्झँदा उसैगरी भाव विह्वल पनि । शान्ताले सम्झिईन् – सभापतिको हैसियतमा निर्णय सुनाउनुपर्ने भएकाले कखरा सिक्दै ६ महिनामै पढ्न लेख्न सिकेको । एबीसीडी सिक्दै कम्प्युटर एक महिनामै जानेको । ड्राईभर भाइको सहयोगमा एक हप्तामै गाडी चलाउने भएको । उनलाई बुढेसकालसम्ममा पिएचडी गरी अगाडि डा. थप्ने मन रहेछ । त्यसैले त छोराछोरी भन्दा पनि तल आठ कक्षा पढ्न नियमित स्कुल जान्छिन् दाङकै लक्ष्मीपुर स्थित श्री उच्च माविमा । शान्ता चौधरी लेखकको हैसियतमा पोखरामा थिईन् । ‘मलाई त लेख्न सिक्दा सिक्दै बनाएको लेखक । यसरी पुस्तकको सवत्र चर्चा हुन्छ भन्ने त सोचेकै थिईनँ ।’ उनले अर्को भेद पनि खोलिन् – ‘मैले अर्को पुस्तक पनि आधा जति लेखिपु¥याछु । सम्भवतः नाम गरीवि र राजनीति रहन्छ होला ।’
उनले आफुमा ६ वर्ष अघि देखापरेको पाठघरको क्यान्सर समेत १५ दिन अघिबाट पुर्ण रुपमा हटेको र श्रीमान्ले अर्को बिहे गरेपनि सम्बन्ध विच्छेद पनि नभएको, बहुविवाहको मुद्धा समेत नहाल्ने भन्दै कुरा टुंग्याईन् ।
सोसाईटीले यसअघि अमर न्यौपानेको करोडौं कस्तुरी पुस्तक परिचर्चा कार्यक्रम गरेकोमा आगामी महिनाको अन्तिम शुक्रबार युवा नेता रविन्द्र अधिकारीको समृद्ध नेपाल पुस्तकबारे परिचर्चा गर्ने पुस्तक छनौट समिति संयोजक दुर्गा न्यौपानेले जानकारी दिईन् ।
सोसाईटीका संयोजक सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरीता तिम्सिना पंगेनी, कमला शर्मा, परिवर्तनका लागि कार्य नेपालकी अध्यक्ष गीता लामिछाने विष्ट, शशी तुलाचन, लक्ष्मी शर्मा भट्टराई, अम्बिका शर्मा भण्डारी, सरीता थापा, दुर्गा कुमारी आचार्य, पम्फा पहारी, गौरी तमु, मिरा पोखरेल, पार्वती पौडेल, हसिना बस्नेत, दुर्गादेवी बास्तोला, महेन्द्रमान व्यथित, शर्मिला न्यौपनो, चन्द्रिका घिमिरे त्रिपाठी लगायतले पुस्तकबारे आफ्ना अनुभव बताएका थिए । आफ्नोे नाम लेख्न १० मिनेट लगाउने, परिचय समेत पुर्ववक्ताकै दिने शान्ता अहिले अग्रणी नेताका रुपमा स्थापित भएकाले उनको जीवनबाट पाठ सिक्नुपर्ने खाँचो सहभागीहरुले औंल्याए ।

