नेपाली पुरुष, महिला फुटबल टोली आज भारतसँग भिड्दै

Share:

काठमाण्डौं,३ फागुन ।

भारतमा जारी १२ औं सागअन्तर्गत सोमवार नेपाली महिला र पुरुष फुटबलमा टोलीले भारतको सामना गर्दैछन् ।
दक्षिण एसियाली खेलकुदमा तेस्रो उपाधिको खोजीमा रहेको नेपाली पुरुष फुटबल टिमले भारतसँग फाइनल खेल खेल्दैछ । १७ वर्षपछि फाइनलमा पुगेको नेपाल उपाधि प्राप्त गर्न निकै विश्वस्त देखिएको छ ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ ले पराजित गर्दै अन्तिम यात्रा तय गरेको हो । नेपालले यसअघि सन् १९८४ र १९९३ मा उपाधि जितेको थियो । खेल सोमवार बेलुकी सवा ७ बजे सुरु हुनेछ ।

महिला टोली पनि भारतसँगै भिड्दै
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले १२ औं सागमा स्वर्ण पदकका लागि सोमवार भारत विरुद्ध खेल्दैछ ।
राउन्ड रोविन लिगका आधारमा गराइएको प्रतियोगितामा शीर्ष स्थानको नेपाल र दोस्रो स्थानको भारत स्वर्ण पदकका लागि भिड्न लागेका हुन् । नेपालले जित हाँसिल गर्ने तयारी छ ।
खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । नेपाली प्रशिक्षक धु्रव केसीले समूह चरणमा भारतसँग गोलरहित बराबरी खेलेपछि टिमको मनोबल बढेको भन्दै स्वर्ण जित्न आतुर रहेको बताए ।
यसअघि भारतसित खेलेका ५ खेल हारेको नेपालले छैटौं खेलमा भने उसलाई उसैको भूमिमा गत विहीबार गोलरहित बराबरीमा रोकेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: