प्रधानमन्त्रीको भारत भ्रमणले चिसोपना र असमझदारी हट्ने सञ्चारमन्त्री राईको विश्वास

Share:

पोखरा, ६ फागुन-
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको चिसोपन र असमझदारीे अन्त्य गर्नमा नै बढी केन्द्रित हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले बिहान पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाल र भारतबीच विगतमा विकास आयोजनामा भएको सम्झौतालाई कार्यान्वयन गर्न र आपसी विश्वासको आधार बनाएर दुई देशको सम्बन्ध सुदृढ बनाउन पनि भ्रमणले जोड दिने धारणा राखे ।
प्रधानमन्त्रीको भ्रमणबाट राष्ट्रको हितविपरीत तल माथि हुनेगरी केही काम नहुने विश्वास दिलाउँदै मन्त्री राईले भारत भ्रमण सकेलगत्तै प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरी दुई देशबीच व्यापार तथा पारवाहन र इन्धनलगायत ऐतिहासिक सम्झौता हुने जानकारी गराए ।
उनले एक वर्षभित्र जनतालाई महसुस हुने गरी विद्युत्भार कटौती कम गर्न र दुई वर्षभित्र शत प्रतिशत ऊर्जा सङ्कट अन्त्य गर्ने गरी सरकार अघि बढेको बताए ।
देशको विकास, समृद्धि र सुशासन कायम गर्ने गरी सरकार निरन्तर अघि बढेको धारणा राख्दै सूचना तथा सञ्चार मन्त्री राईले सरकार आफ्नो विकासको यात्रामा अलमल नगरी अघि बढेको छ अब कसैले पनि विकासको यात्रा रोक्न नसक्ने उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
Share: