
रञ्जन अधिकारी पोखरा, १५ फागुन / ‘नेतालाई बाल, जनताको आफ्नै ताल, हेर देशको बेहाल’ यस्तो गहिरो आशय अंकित सेतो रंगको टिसर्ट किन्न युवाहरुको लर्को लागेको छ । सामाजिक सञ्जालमा नेपाली फुटबल स्टार बिमल घर्तीमगर सम्मकाले यो टिर्सट पहिरिएर एउटा अभियानमा साथ दिएका छन् । त्यो अभियान हो – मुटुमा प्वाल र मृगौला खराबीका कारण थलिएका चार वर्षे बालक आशिष न्यौपानेको उपचार । पाँच सय ७० रुपैंया तोकिएको सो टिर्सट विक्रीबाट उठेको बचत रकम आशिषको उपचारमा खर्च गरिनेछ । ‘यो टिसर्ट फर च्यारिटी’ अभियानको थालनी गरेका हुन् सामाजिक सञ्जाल फेसबुकमा नेपाली एडल्ट जोक्स पेजका एडमिन सरोज थापाले । यसमा, चर्चित ग्रुप मेन्स रुम रिलोडेडको पनि उत्तिकै साथ छ । टिर्सट विक्री गर्दै सहयोग संकलन पनि जारी छ ।
बाजुरा जस्तो विकट जिल्लाको छतारा गाविस वडा नं. ८ घर भएका कृपाराम न्यौपाने आफ्ना चार वर्षीय नाबालक छोरोको उपचारका लागि काठमाण्डौ पुगेका थिए । घरको दयनिय आर्थिक अवस्थाले हातमुख जोड्न नै मुस्किल परेका बेला सानो बच्चालाई मुटु रोग र मृगौला सम्बन्धी खराबी एकैपटक भयो । छरछिमेकले दिएको छ हजारले काठमाण्डौंसम्म त पुगे तर उपचार गर्नु कसरी ? यसै क्रममा उनको अवस्था देखेर युवाहरुले सामाजिक सञ्जालमा अभियान सुरु गरेका हुन् ।
पोखरामा पनि मेन्स रुम रिलोडेड (एमआरआर) पोखराले आशिष बचाउन अभियान अन्तर्गत आर्थिक संकलन जारी राखेको छ । हिमचन्द्र ट्रस्टले आशिषको उपचारका लागि १५ हजार रुपैंया सहयोग प्रदान गरेको छ । हिमलाल र चन्द्रकला न्यौपानेका तर्फबाट छोरा सविन न्यौपानेले सो रकम एमआरआर पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए । ‘एउटा अबोध बच्चा जसले आफ्नो जीवन के हो नै बुझेको छैनन्, उही बच्चा मुटु, मृगौला र निमोनियाबाट पीडित छन्’– एमआरआर पोखरामा सक्रिय सदस्य समेत रहेका सबिनले भने– ‘त्यसैले थोरै भएपनि सहयोग होस् भनेर रकम प्रदान गरेका हौं ।’
महेन्द्रपुल, पृथ्वीचोक क्षेत्रमा आशिष बचाउ ब्यानर लिएर सहयोग रकम संकलन गर्ने एमआरआर पोखराको योजना छ । तिमिल्सिनाका अनुसार टिसर्ट विक्रीबाट समेत रकम संकलन गरी आशिषका परिवारलाई हस्तान्तरण गरिनेछ । काठमाण्डौंको कान्तिबाल अस्पतालमा निमोनियाको उपचारपछि अहिले आशिषको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालाका अनुसार एक महिनापछि हुने अपरेशनका लागि आर्थिक जोहो गर्नुपर्ने बाध्यता परिवारलाई छ । मुटुरोगीलाई सरकारले गर्ने उपचार निःशुल्क भएकाले औषधि र खानबस्नका लागि मात्रै समस्या भएको हो । आशिषको पिशावनलीको समेत अपरेशन गर्नुपर्नेछ । आशिषको लागि सहयोग गर्न चाहने सहयोगी मनहरुले मेगा बैंकको खाता नं. ०२४–००५–००४–२२६३ मा रकम जम्मा गर्न सकिनेछ । अथवा, आशिषका बाबुलाई ९८६८४२४९९५ मा सम्पर्क गर्न सकिनेछ ।

