ग्यास विक्रेताको समस्याप्रति राज्य गम्भीर नभएको गुनासो

481
0
Share:

रञ्जन अधिकारी पोखरा, १५ फागुन / ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास विक्रेताहरुको समस्यामा राज्य गम्भीर बन्न नसकेको गुनासो गरेका छन् । उनले सुरक्षा, कमिसन लगायतका एजेन्डाका साथै जिल्लाका समस्याहरु लिएर दस्तावेज बनाएरै सार्थक वार्ताका लागि महासंघले प्रक्रिया अघि बढाएको समेत जनाए ।

कास्कीको धम्पुसमा शनिबार भएको एलपी ग्यास विक्रेता संघ, कास्कीको ११ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष अर्यालले ग्यास उद्योगहरुले सिधै उपभोक्तासम्म ग्यास पु¥याएको गुनासो आएको सुनाए । ‘विक्रेताको लगानीलाई कुठाराघात हुने काम नगरौं । खर्च बढेको निहुँमा कमिसन नघटाऔं ।’ अर्यालले भने– ‘उद्योगी र विक्रेता भनेको नङ र मासु जस्तै सम्बन्धमा रहनुपर्छ ।’ उनले एउटाको बदमासीले सबै बदनाम हुने भएकाले आफ्नो मर्यादामा रहन आग्रह गर्दै घुमाउरो तरिकाले चामलसँग ग्यास साटेर उपभोक्ता नठग्न पनि विक्रेताहरुलाई आग्रह गरे ।

महासंघका सल्लाहकार बालकृष्ण कोईरालाले मुलुकको यही अवस्था रहे अर्को साधारणसभा समेत ग्यास व्यवसायीले गर्न नसक्ने बाध्यता रहेको व्यंग्य गर्दै ग्यास विक्रेताहरु मानसिक तबरले पनि त्राहीत्राहीको अवस्थामा बाँच्नुपरेको उल्लेख गरे । उनले उद्योगले नयाँ डिलरहरुलाई प्राथमिकता दिएकोमा आपत्ति समेत जनाए । व्यवसायीले पनि गोदाम व्यवस्थापनदेखि वितरण प्रक्रियासम्म आचारसंहिता पालना गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सञ्जीवबहादुर कोईरालाले कुनै पनि पेशा व्यवसायमा एक न एक समस्या झेल्दै आएको भन्दै नाकाबन्दीको समयमा पनि व्यवसायीहरु धैर्यवान रहनु ठुलो कुरा भएको बताए । उनले एउटा सिलिण्डर बेचेर जेरी समेत नआउने बाध्यता रहँदा हिजो खाईपाई आएको कमिसन समेत काटिएको गुनासो बढिरहेकाले उद्योगको ध्यानकर्षण गराए ।

महासंघका केन्द्रिय उपाध्यक्ष महेश्वर कुमार श्रेष्ठले नाकाबन्दीको समयमा महासंघले वितरण प्रक्रिया सहज बनाउन पहल गरेको उल्लेख गर्दै डिलर प्रमाणिकरण प्रक्रिया अघि बढेको जनाए ।

उद्योगहरुका तर्फबाट शक्ति ग्यास कम्पनीका कार्यकारी प्रमुख मेघराज पौडेल र गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले बोलेका थिए । उनीहरुले भारतले नेपालप्रति गरेको हेपाहा प्रवृत्ति जस्तै राज्यले पश्चिमाञ्चल क्षेत्रका दुई कम्पनी गृहलक्ष्मी र शक्तिलाई हेपेको गुनासो गरे । लेखनाथ १३ गगनगौंडामा उद्योग रहेको यी दुई कम्पनीले पश्चिमाञ्चल क्षेत्रका ७० प्रतिशत हिस्सा ओगटेको छ । यहाँ १३ कम्पनीका ग्यास आधिकारिक रुपमा बजारमा आएकोमा यी दुई कम्पनीका बराबरी जसो १ लाख २० हजार सिलिण्डर मासिक विक्रीवितरण हुन्छ । नाकाबन्दीको समयमा सरकारले राजधानीलाई मात्र प्राथमिकता दिएकाले ग्यास बुलेटहरु त्यहाँको दाँजोमा आउन नसकेको भन्दै उनीहरुले तरपनि समानुपातिक वितरण र पारदर्शितामा आफुहरु नचुकेको दाबी गरे ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले व्यवसायिक धर्म पुरा गर्दै उपभोक्तामुखी सेवामा ध्यान दिन आग्रह गरे । कार्यक्रममा स्वागत गर्दै संघ कास्कीका अध्यक्ष नारायण पौडेलले यो वर्ष ग्यास विक्रेताहरुका लागि साह्रै कष्टकर वर्ष रहेको भन्दै व्यवसाय चौपट भएको बताए ।

साधारणसभामा संघ कास्कीका सचिव नारायण दाहालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णबहादुर भण्डारीले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले संघको रिक्त पदपूर्ति पनि गरेको छ । उपाध्यक्षमा डिल्लीरमण भण्डारी (राजु), कोषाध्यक्ष शिव वाग्ले र सदस्यमा सुरज गुरुङलाई चयन गरेको छ । कोषाध्यक्ष भण्डारीले दिएको राजिनामालाई साधारणसभाले स्वीकृत गरी वाग्लेलाई चयन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: