
रञ्जन अधिकारी पोखरा, २७ फागुन / ‘यो अन्तर्राष्ट्रिय नारी दिवस लान्द्रुक, घान्द्रुक र धम्पुस जस्ता गाउँका सक्षम महिलाहरुसँग मनाएँ ’–नेदरल्याण्डकी निकोल मस्ट्रुकाले भनिन् – ‘पोखरा राम्रो छ । यहाँका हिमाल, ताल, गुफा लगायतबाट प्रभावित भएँ । सबैभन्दा बढि रमाईलो त गाउँका महिलाहरुसँग भेट्दा लाग्यो ।’ खेलकुदको माध्यमबाट किशोरी तथा युवा महिलालाई सशक्त बनाउन नेदरल्याण्डमा स्थापित अग्रणी संस्था ‘वुमेन विन’ मा आबद्ध उनी अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान कार्यक्रमकै सिलसिलामा नेपालमा आएकी हुन् ।
शिक्षा तथा सांस्कृतिक विभाग, अमेरिकाले सबै खर्च व्यहोर्ने गरी नेपालमा मार्च ४ देखि १२ गतेसम्म सञ्चालन भईरहेको वुमेन विनको अभियानमा अमेरिकाको ‘सकर विथआउट बोर्डर्स’ नामक संस्थाको समन्वयमा १० किशोरी तथा युवा महिलाहरु अहिले पोखरामा छन् । फुटबलको माध्यमबाट सकारात्मक परिवर्तन गर्ने उद्देश्यले अमेरिकामा क्रियाशील सकर विथआउट बोर्डस्ले शरणार्थी र आप्रवासी युवासँग केन्द्रित रही काम गर्ने डाईरेक्टर क्याटले बताईन् । वुमेन विनले अमेरिकाका लागि यस संस्था र नेपालका लागि महिला सशक्तिकरण नेपालसँग सहकार्य गरेको हो ।
अमेरिकाबाट आएको टोलीले कास्कीका पर्यटकीय गाउँहरु लान्द्रुक, घान्द्रुक, धम्पुसमा अवलोकन भ्रमण, त्यहाँका महिलासँग अन्र्तक्रिया, महिला सशक्तिकरण नेपालले अभियान सञ्चालन गरेका सामुदायिक विद्यालयका छात्राहरुसँग अन्र्तक्रियात्मक भेटघाट तथा फुटबल क्याम्प, अन्नपूर्ण पदयात्रा लगायत गरिसकेको कार्यक्रम संयोजक लक्की कार्की क्षेत्रीले बताईन् ।
नेपाली १० जनाको टोली जुलाई १६ देखि २२ सम्म अमेरिका रहनेछन् । महिला सशक्तिकरण नेपालमार्फत जाने उनीहरुले योजमाईट नेशनल पार्कमा पदयात्रा, डिजिटल कार्यशालामा सहभागिता, सकर विथआउट बोर्डर्स र ओकल्याण्ड क्यालिफोर्नियामा आयोजना हुने कार्यक्रमहरु अवलोकन गर्नेछन् । सहभागीहरुले व्यक्त गरेका सांस्कृतिक अनुभवहरुलाई वुमेन विन संस्थाले संकलन गरी अनलाईन मार्फत शेयर गर्ने संस्थाकी सारा मुर्रेले जानकारी दिईन् । यस कार्यक्रम मुख्यतः दुई रणनीतिहरु खेलको माध्यमबाट सामाजिक कार्यकर्ताहरुका लागि नेतृत्व विकास र साझेदार संस्थाहरुका किशोरी, बालिकाहरुमा लैंगिक समावेशिताका लागि खेल मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्दै अधिकारको सम्बोधन गर्नु रहेको उनले जनाईन् ।
सकर विथआउट बोर्डर्सका लुकसका अनुसार सो संस्थाले फुटबलको माध्यमबाट सिमान्तकृत तथा अवसरबाट वञ्चित रहेका युवाहरुको समस्या न्युनिकरणका साथै समावेशीकरण र व्यक्तिगत सफलता हासिल गर्नका लागि कार्य गर्दछ । महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की कार्की क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जिता पराजुलीले गरेकी थिईन् । सो अवसरमा पत्रकारहरुले यो अभियानका बारेमा जिज्ञासा राख्दै पोखरा भ्रमणमा आएकोमा धन्यवाद दिएका थिए ।
