
रञ्जन अधिकारी पोखरा, ३ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकीय स्थल पोखराको विकास नयाँ मास्टर प्लानका साथ गरिने बताएका छन् । उनले यहाँका तालतलैयाको उपयोग गर्न नसकेको स्वीकार गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि तुरुन्तै अघि बढ्ने जनाए ।
नेकपा एमाले कास्कीले पोखरामा बुधबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यहाँको पर्यटन व्यवसायलाई पुर्नजीवित गर्दै तीब्रताका साथ अघि बढ्ने बताए । ‘कृषिलाई आधुनिकिकरण, व्यवसायिककीकरण, उद्योगधन्दाको स्थापना, रोजगारीको सिर्जना, आधुनिक र सुरक्षित बस्ती नाराका साथ अघि बढ्छौं ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले पश्चिमाञ्चलबासीको चाहना अनुसार नै पोखरा विमानस्थल निर्माण प्रक्रियामा अब ढिलाई नहुने बताउँदै डोजर चल्न सुरु हुने बताए । ‘धेरै वर्षदेखि यहाँहरुले एयरपोर्ट एयरपोर्टको कुरा भन्नुभो, अब यहाँ डोजर चल्न सुरु हुन्छ’–उनले भने– ‘काठमाण्डौं पोखराको बाटो ट्रकसँग ठोक्किएला कि ? ट्याक्सीसँग ठोयिक्कएला कि ? भन्ने हुँदैन अब । चार लेनको बनाउँछौं ।’ उनले काठमाण्डौं, लुम्बिनी पोखरा रेल, केबुलकार निर्माण लगायतको काम अघि बढ्ने जनाउँदै स्मार्ट सिटीको योजना अनुरुप अघि बढ्ने बताए । भुकम्पले ईतिहास बोकेका गाउँहरु तहसनहस भएकाले यसको पुर्ननिर्माणमा जुट्ने उनको भनाई थियो ।
‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको लक्ष्य राष्ट्रिय एकता सुदृष्ढिकरण र देशको समृद्धि’ विषय राखिएको भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले सबैलाई मिलाएर सबैको हक अधिकार सम्पन्न, समावेशी संविधान ल्याएको जिकिर गरे । उनले संविधान किताब लेखेजस्तो मात्र नभएको भन्दै यसको कार्यान्वयनको नेतृत्व पनि एमालेले नै गर्ने जिकिर गरे ।
नेपाली काँग्रेस सरकार परिवर्तनको खेलमा लागिसकेको भन्दै उनले यो अवस्थामा काँग्रेस नेतृत्वको सरकारले पार लगाउन नसक्ने ठोकुवा गरे । ‘किन अरुलाइृ दिने आफै बने भनेर कसले उस्काईदियो । आफैं प्रधानमन्त्री बन्छु भन्ने दौडमा छन्’ – उनले भने– ‘यस्तो बेला काँग्रेसको प्रधानमन्त्री भयो भने देशको हालत के होला ?’
यो सरकार तीब्रताका साथ विकास निर्माणको अगाडि बढ्ने भन्दै उनले जनता ढुक्क रहन आग्रह पनि गरे । उनले आफु भुकम्पपछिको तहसनहस अवस्थामा र नाकाबन्दी खेपेको तेस्रो हप्तामा प्रधानमन्त्री बनेको भन्दै आशा गरे अनुरुप काम गर्न नसकेको स्वीकार गरे । थप काम गर्नुभन्दा भत्के बिग्रेको, सम्बन्ध सुधारतर्फ मात्र केन्द्रित रहँदा काम गर्न नपाएको उनको गुनासो थियो ।
भारत भ्रमण असाधारण ढंगले सफल भएको भन्दै उनले राष्ट्रियताको सन्दर्भमा स्पष्ट अडान र दृष्टिकोण नेपाली जनताले यसपटक देखेको बताए । उनले नेपाली जनताले जस्तै अभाव र पीडामा पनि सरकारलाई साथ दिएर नेपालीको उँचो स्वाभिमान कायम राखेकोमा धन्यवाद पनि दिए ।
अबको दुई वर्षभित्रमा मुलुक निर्वाचनमा होमिने भन्दै उनले यो सरकारको कामकै कारण त्यसबेला नेकपा एमालेका नेता कार्यकर्ताहरु भोट माग्दै हिँड्न जरुरी नहुने पनि उल्लेख गरे । ‘एमाले जस्तो पार्टी दोसे हुनुपर्ने अचम्मका कुरा नेपालमा भएका छन् । अब दुई वर्षपछिको चुनावमा एमालेका साथीहरुले भोट माग्न झण्झट गर्नु पर्दैन । त्यसको तारतम्य यो सरकारले मिलाउँछ ।’ कार्यक्रमको अध्यक्षता एमाले कास्की अध्यक्ष कृष्ण थापाले गरेका थिए ।
यसैबीच, सो अवसरमा जनसरोकार मञ्च कास्की र नागरिक समाज पोखराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो । मञ्चका संयोजक नविन सिग्देलले प्रदेश नं. ४ को आवश्यकता र अपेक्षा सम्बन्धमा २२ बुँदे सुझाव सहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । यस्तै नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले आसन्न चीन भ्रमणका क्रममा द्विपक्षीय हितमा सम्झौता गर्न र पोखरा विमानस्थललाई प्राथमिकता दिन आग्रहका साथ ज्ञापन पत्र बुझाए ।
