
पोखरा १० चैत ।
गत बैशाखको विनाकारी भुकम्पको केन्द्रविन्दु रहेको गोरखामा फेरी अर्को विपद आएको छ ।
जिल्लाका केरौजा गा.वि.सको वडा नं १, २, ३ र ४ मा आज बुधबार बिहान ७ देखि चलेको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ । भुकम्पपछि टहरामा बस्दै आएका भुकम्पपीडितको टहरा समेत हावाहुरीले उडाउन थालेको स्थानीयवासी धरम घलेले बिग न्युजलाई टेलिफोन मार्फत जानकारी दिएका छन् ।
घलेका अनुसार टहराका सामानहरु हावाहुरीले उडाएर लैजादा ती सामानले लागेर केही व्यक्ति घाइते समेत बन्न पुगेका छन् । पीडित बस्दै आएको टहरा समेत हावाहुरीले उडाएपछि पीडितहरु विचल्लीमा परेका छन् । बाकी बिवरण भने आउन बाकी नै रहेको छ ।
यता आज बिहान ६ बजेदेखि चलेको हावाहुरीले रसुवा सदरमुकाम धुन्चे लगायत आसपासका क्षेत्रको जनजीवन पनि प्रभावित बनाएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले भूकम्प पीडितका दर्जनौँ जस्ताका टहराहरू उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ ।
अहिले स्थानीयवासी सुरक्षित ठाउँको खोजी गर्दै बसिरहेका छन् ।
अहिले हिडडुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भइसकेका साथै सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताएका छन् ।
उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा नआएको बताइएको छ । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन नभएको बताइएको छ ।
